‘लोकतन्त्र बलियो बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण’

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 933
1 मि. पढ्न लाग्ने समय

जनकपुर– नेपालका लागि अमेरिकी राजदूत डिन थोम्सनले लोकतन्त्रलाई बलियो बनाउन तथा जनतालाई नजिकबाट सेवा गर्नमा नेपालको स्थानीय निकाय सफल भएकोमा खुशी व्यक्त गरेका छन ।

अमेरिकी राजदूत थोम्सनले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, वडाध्यक्षहरुसंग बिहिवार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भेटघाट गर्दै लोकतन्त्रको हरेक गतिविधिमा अमेरिकाको साथ र सहयोग रहने बताए ।

राजदूत थोम्सनले अमेरिकी राष्ट्रपतिले नेपालको लोकतन्त्रको सुदृढीकरण र विकासमा साथ दिने प्रतिबद्धता पटक पटक गर्दै आएको बताउँदै स्थानीय तहले जनताको सेवा प्रदान गर्ने सबैभन्दा नजिकको सरकार भएको र यसले लोकतन्त्र बलियो बन्ने उनले बताए ।

कार्यक्रममा जनकपुरधामका उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले गरेको कामकाज तथा जनकपुरधामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व, चाडपर्व र उत्सवको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्न कुमार शशीले जनकपुरधाम उपमहानगरपालिकाको भौगोलिक अवस्था, जनसंख्या, सेवाको अवस्था तथा ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी दिए ।

भेटघाटमा जनकपुरधाम उपमहानगरपालिकाको २५ वडामध्ये अधिकांश वडाका अध्यक्षहरु सहभागी रहेका थिए । उक्त अवसरमा अमेरिकी विकास नियोगका नेपालस्थित प्रमुख सेफिडिला क्यान्साद पनि उपस्थित थिए ।

यो लेख शेयर गर्नुहोस