बारा– मधेश प्रदेशको राजधानी जनकपुर सहित मधेश प्रदेशको आठ वटै जिल्लामा उदाउदै गरेको सुर्यलाई अघ्र्य दिदै व्रतालुहरुले मंगलवार चैती छठ पर्व समापन गरेका छन ।
तराई मधेशको सबै भन्दा ठुलो तथा महान पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ । चैती छठ व्रतको तेश्रो अर्थात मुख्य दिन सोमवार अस्ताउदै गरेको सुर्यलाई व्रतालुहरुहरुले अर्घ दिएका थिए ।
बारा सदरमुकाम कलैयाको रामजानकी, सिद्धेश्वर विद्यालय, सिम्रौनगढको कंकालीमाई, रौतहटको गौर, सर्लाहीको मलंगवा, महोतरीको जलेश्वर, धनुषाको जनकपुर स्थित गंगासागर, धनुषसागर, अरगज्जा सागर, दशरथ तल्ला लगायतका छठीघाट ब्रतालु, तिनका आफन्त, बालबालिका सबैबाट भरीभराउ देखिएको थियो ।
कार्तिक महिनामा मनाईने छठ व्रत भन्दा चैती छठमा श्रद्धालु भक्तजनको संख्या कम देखिएपनि अन्य जिल्लाको तुलनामा जनकपुरमा चैती छठ गर्नेहरुको संख्या बढी देखिएको स्थानीय महेन्द्र मधुकरले जानकारी दिए ।
चैत महिनामा मानिने छठ व्रत बस्नलाई गर्मीको कारण कठिनाई हुने गरेकोले यसमा व्रतालुहरुको संख्या कम हुदै गएको मधुकरको भनाई छ ।
यस अघि ब्रतालुहरुले छठ पर्वको पहिलो दिन नहायखाय विधी र दोश्रो दिन आईतवार ‘रसियाउ रोटी’ अर्थात खरना विधीको पुजाआजा गरेका थिए ।
उनीहरुले मिठा, सख्खर, दुध, शुद्ध चामलको प्रयोग गरी माटोको हडियामा रसियाउ र खपरी (माटोको तावा) मा शुद्धता पुर्वका गहु पानीले सफा गरेर घाममा सुकाई सफा गरेको मेसिनमा पिंधेर निकालेको पीठोबाट सतर्कता पुर्वक रोटी पकाएर प्रसादको रुपमा खाएका थिए ।
रसियाउ र रोटी छठी माता र घरको देवतालाई चढाएपछि पहिला ब्रतालु महिला (छठैतिन) ले रसियाउ रोटी खाने चलन छ । त्यसपछि परिवारका अन्य सदस्यले प्रसादको रुपमा त्यही रसियाउ रोटी खाएर बस्छन । यो विधीलाई नै रसियाउ रोटी भनिन्छ ।
छठ पर्वको पहिलो दिन शनिवार छठ ब्रत बस्ने महिला/पुरुषहरु खाना खानु अघि नुहाई धुवाई गरी पवित्र भई लसुन प्याज नहालेको शुद्ध घ्यूमा बनाईएको सात्विक खाना खाएर नहाय खाय विधी पुरा गरेका थिए ।
उदाउदै गरेको सुर्यलाई अर्घ दिएपछि छठको पुजा सामाग्री, ठेकुवा चिउरा राखिएको दउरा, छैटा बोकेर आफन्तहरु घर फर्किन्छन ।
पर्व समापन भएपछि ब्रतालुले गाउ घरमा रहेका ईनार, चापाकल, घरमा भएका सवारी साधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदीमा पुजा गर्दै घर फर्किने चलन छ ।
पुजा समाप्ती पछि ३६ घण्टा देखी निराहार, निर्जल ब्रत बसेका ब्रतालुले घरमा बनेको मिठो पकवान खाएर ब्रत तोड्ने चलन रहेको अर्का व्रतालु अनिता मिश्राले बताईन ।
‘सबै घरमा पकौंडा सहितको पकवान बन्दछ,’ उनले भनिन, ‘पुजा सकिएपछि परिवारका सबै मिलेर खान बस्छन ।’ परिवारिक समस्या, प्रगती लगायतका बारेमा खानाकै अवसरमा छलफल समेत गर्ने चलन रहेको उनले जानकारी दिईन ।
‘हिन्दुले मान्ने पर्व मध्ये छठ ब्रत सबै भन्दा कठिन ब्रत मानिन्छ,’ बारा उत्तरझिटकैयाकी ब्रतालु कोशिला देवीले भनिन, ‘यो पर्वमा ब्रतालुले निर्जल, निराहार बस्छन ।’ ब्रत अवधीमा पानी समेत सेवन गर्दैनन । शौच गर्ने बित्तिकै नुहाई धुवाई गरेर नया“ कपडा फेर्ने चलन समेत रहेको उनले बताईन ।
व्रत समाप्त भए पछि छठ पर्वको प्रसाद छर छिमेक ईष्ट मित्र कहा“ पठाउने र विवाह गरेर गएका छोरी बेटीहरुलाई बायन पठाउने चलन रही आएको उनले बताईन ।
छठ पर्व गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ती हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको कारणले तराई भेगमा मनाईने यो व्रत विस्तारै पहाडी भेगमा समेत मनाउन थालिएको छ ।
श्रद्धाभक्ति र धार्मिक सहिष्णुताको प्रतीकको रुपमा स्थापित छ । तराई मुलका ९५ प्रतिशत हिन्दु महिलाले मान्ने यस पर्वलाई तराई भेगमा बसोबास गर्दै आएका पहाडी मूल, माडवारी र बङ्गाली समुदायका महिलाहरुले समेतले अत्यन्त श्रद्धा र भक्ति पूर्वक मान्ने परम्परा बढदै गएको स्थानीयले जानकारी दिए ।