कलैया भरत चोकको सवारी साधन व्यवस्थापन गर्न व्यवसायीको माँग

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
2 मि. पढ्न लाग्ने समय

बारा– पछिल्लो समय अव्यवस्थि र कुरुप बनेको कलैया भरत चोकको सवारी साधन व्यवस्थापन गर्न माँग गर्दै स्थानीय व्यपारीहरुले कलैया उपमहानगरपालिकामा ज्ञापनपत्र दिएका छन ।

सवारीहरुको अब्यवस्थित पार्किङ्गका कारण व्यापार व्यवसाय संचालन गर्न तथा ग्राहकहरुलाई आवत जावत समस्या हुने गरेको गुनासो गर्दै उनीहरुले ज्ञापनपत्र दिएका हुन ।

जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिकाको मुटुको रुपमा चिनिने भरत चोकमा अटो, मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी, यात्रुवाहक बस अव्यवस्थित रुपमा जताततै पार्किङ्ग गर्दा भरत चोकमा व्यापार व्यवसाय गर्दै आएका सम्पूर्ण व्यापारीहरुको पसलमा आउने ग्राहकहरुलाई सास्ती खेप्नु परेको स्थानीय शर्मा इलोक्ट्रोनिक्सका संचालन गणेश ठाकुरले गुनासो गरे ।

पसलको अगाडी दिनहु सडक जाम गरेर लगाइएको सवारीले व्यापार गर्न समेत कठिन भएको उनको भनाई छ । भरत चोक वरपर गाडीहरुको जाम लाग्ने गरेको अर्का व्यपारी नरेश जेनरल स्टोर्सका संचालक नरेश गुप्ताले बताए ।

‘गाडीहरु पार्किङ्ग गरेर पसलको बाटो नै बन्द गरिदिन्छन्,’ उनले भने, ‘दिनहुँजसो पार्किङ्ग गर्ने सवारी साधनका चालकहरुसँग झै झगडा पर्ने गरेको छ ।’ पैदल आफनो गन्तव्यमा जाने यात्रीहरुले झन सास्ती खेप्नु परेको उनले बताए ।

सवारी साधनहरुको व्यवस्थापन गर्न पटक पटक कलैया उपमहानगरपालिकामा मौखिक रुपमा धयानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको उनले आरोप लगाए ।

मौखिक रुपमा सवारी साधन व्यवस्थापनको बारेमा पटक पटक गुनासो गर्दा सुनुवाई नभएपछि लिखित रुपमै कलैया उपमहानगपालिकालाई ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

अव्यवस्थित अटो पार्किङ्ग, सर्वसाधारणलाई सहज रुपमा आवतजावत तथा व्यापार व्यवसायमा संचालन गर्न अधिकारको सु्निश्चितताको लागि अव्यवस्थित सवारी पार्किङ्ग समस्या समाधान गर्न गराउन कलैया उपमहानगरपालिकासँग माँग गरेको व्यापारीहरुले जानकारी दिएका छन् ।

माँग सम्बोधन नभए आफुहरु वाध्य भई आन्दोलनमा उत्रिने चेतावनी समेत व्यपारीहरुले दिएका छन । अंकिता जेनेरल स्टोर्स, दासगेष्ट हाउस, न्यू अशोक ग्लास हाउस, सिम्रन ट्रेडर्स, जयसवाल सेकुवा घर लगायतका संचालकहरुले लिखित रुपमा सवारी पार्किङ्ग व्यवस्थापनको माँग गर्दै कलैया उपमहानगपालिकाका लिखित निवेदन दिएका हुन ।

यस सम्बन्धमा कलैया उपमहानगरपालिकाका प्रमुख विनोद प्रसाद साहसंग पटक पटक सम्पर्क गर्न खोज्दा प्रतिक्रिया उपलब्ध हुन सकेन ।

 

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस