बारा– तराईमा किशोरीहरु शिक्षामा पछाडी छन । त्यसमा पनि दलित, विपन्न परिवारका किशोरी त विद्यालयको मुख पनित हेर्न पाउदैनन् । उच्च शिक्षा पाउनु त परको कुरा हो ।
पालिकाका दलित हुन वा गैर दलित सबैले सामान शिक्षा पाउनु पर्ने र छोरी बेटीको रक्षा हुनु पर्ने उदेश्यले मधेश प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान नै संचालन गरेको छ । मुख्यमन्त्रीको पहलमा संचालित अभियानलाई सफल बनाउन प्रदेश सरकारले छोरी जन्मिने वितिकै विमा सहितको अनुदान र विद्यालय जाने उमेरका किशोरीलाई साईकल वितरण गर्ने योजनालाई निरन्तरता दिईरहेको छ ।
त्यही योजनालाई बाराका पालिकाहरुले समेत निरन्तरता दिदै आएका छन । छोरीहरुको मनोबल बढाउन र पढाईप्रति आकर्षित गर्न प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले सोमवार साईकल वितरण गरेका छन ।
प्रसौनी गाउपालिकामा आयोजना गरिएको समारोहमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियामा अध्ययनरत कक्षा ९ का छात्राहरुलाई साईकल वितरण गर्दै पालिका अध्यक्ष जैसवालले प्रत्येक वर्ष गाउँपालिका स्तरीय योजनाबाट पालिका भरिका ९ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गर्ने प्रतिवद्धता जनाए ।
पालिकाले पालिका भित्र रहेका विभिन्न ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने उनले जानकारी दिए ।
जसमध्ये ३ वटा माध्यमिक विद्यालयका १ सय ५ जना छात्राहरुलाई साइकल वितरण भइसकेको उनले जानकारी दिए ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्जरियाका ३१ जना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रष्टोकाका ३२ जना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका ४२ जना छात्राहरुलाई साइकल वितरण भइसकेको उनले बताए ।
‘बाँकी तीनवटा स्कूलका कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई चाँडै नै साइकल वितरण गर्छौ,’ उनले भने, ‘अरु योजनालाई थाती राखेर भएपनि साईकल वितरण योजनालाई प्राथमिक्ता दिन्छौं ।’ टांढा टांढाबाट विद्यालयमा पठन पाठन गर्न आउने छात्राहरुलाई सजिलो, सहज र शिक्षाप्रति आकर्षण बढाउनको लागि साईकल वितरण कार्यक्रमलाई प्राथमिक्ता दिईएको उनले बताए ।
नगरका विद्यालयहरुमा विषयगत शिक्षकहरुको अभाव रहेकोले चांडै दरबन्दी मिलान गरी प्रत्येक विद्यालयहरुमा विषयगत शिक्षकको व्यवस्था गर्ने उनको भनाई छ ।
शिक्षा र स्वास्थ्यमा पालिकालाई मधेश प्रदेश कै नमुना पालिका बनाउने योजनाका साथ आफू अगाडी बढेको पालिका प्रमुख जैसवारले बताए ।
पालिका भित्रका सबै छात्र छात्राहरु स्कूल जाउन र शिक्षा आर्जन गर्न पाउन भन्ने मूल नाराका साथ आफू अगाडी बढेको उनले बताए ।
‘अहिलेको समयमा शिक्षा नभई नहुने अवस्था छ,’ उनले भने, ‘अहिले देशका युवाहरु विदेशिने क्रम घटनु भन्दा दिनानुदिन बढदै गएको छ ।’ शिक्षा अभावमा उनीहरु विदेशमा गएर लेबरको काममा अकालमै जिवन गुमाउनु परेको उनले बताए ।
त्यसैले शिक्षा हासिल गरेर ज्ञान सीप लिएर विदेश जाने हो भने कमाई पनि राम्रो हुने र अकालमा जिवन गुमाउनु नपर्ने भएकोले शिक्षा तर्फ बढी ध्यान दिईएको उनको भनाई छ ।
उनका अनुसार दक्ष जनशक्तिको माँग आफनै देशमा रहेको छ । सीपमूलक ज्ञान हासिल गर्न सकियो भने स्वदेशमै विदेश भन्दा राम्रो कमाई गर्न सकिन्छ । अहिले हाम्रो पालिकामा प्राविधिक विषयहरुको पनि अध्ययन अध्यापन शुरु भएको छ । त्यहाँबाट दक्ष जनशक्ति उत्पादन गर्ने गरि अध्यन अध्यापन शुरु गरिएको उनले बताए ।
कम लागतमा प्राविधिक विषयको कक्षा पालिकामै संचालन भएको हुनाले छात्र छात्राहरुलाई पनि सजिलो भएको उनले बताए ।
कार्यक्रममा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष संतोष कुमार साह, ६ का वडाध्यक्ष वृजकिशोर साह लगायत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।