बारा– बारा निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते हुन लागेको प्रतिनिधी सभाको उपनिर्वाचनको लागी नेपाली काँग्रेस बाराले सोमवार उम्मेदवारको नाम सिफारिस गरेको छ ।
कांग्रेस बाराले क्षेत्रमा नम्बर–२ मा संविधानसभा सदस्य राधेचन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरुले साझा उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला कलैया स्थित पार्टी कार्यालयमा सोमवार सम्पन्न नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराको बैठकले संविधानसभा सदस्य यादवको नाम सिफारिश गरेको हो ।
नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रिय कमिटीले एकल उम्मेदवारको रुपमा नेपाली कांग्रेसका पुर्व सभापति समेत रहेका यादवको नाम सिफारिस गरेको थियो ।
क्षेत्रिय सभापति रामप्रवेश यादवले सिफारिश गरी पठाएको नामलाई नै जिल्ला कार्यसमितीको बैठकबाट अनुमोदन गरी केन्द्रमा पठाईएको नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले जानकारी दिए ।
क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछी सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव पनि सो क्षेत्रमा चुनाव लडने चर्चा चलिरहेको बेला नेपाली काँग्रेस बाराको निर्णयले राजनितिक वृतमा तरंग ल्याएको छ ।