बारा– सिमरा रंगशालामा संचालित जगदम्बा १३ औं जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत शुक्रवार राती भएको दोस्रो खेलमा बीरगंज युनाईटेड क्लब विजयी भएको छ ।
उसले बागमती युवा क्लब सर्लाहीलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगाउदै क्वार्टर फाईनलमा स्थान सुरक्षित गरेको हो । बीरगंजको जितको लागी विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोलको योगदान गरेका थिए ।
पहिलो हाफ बराबरी खेलेको बागमती विरुद्ध दोश्रो हाफमा बीरगंज हावी भएको थियो । खेलको ५४ औं मिनटमा बीरगंजका विवेक चौधरीले बललाई जाली चुमाउदै टिमलाई १–० को अग्रता दिलाए ।
बागमतीका गोलरक्षक रविन बस्नेतको कमजोरीको फाइदा उठाउँदै विवेक चौधरीले खाता खोलेका थिए । डि एरिया छाडेर अघि बढेका गोल रक्षकलाई विट गर्दै विवेकले बललाई डि एरिया बाहिरैबाट गोल पोष्टको दिशा दिएका थिए ।
१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगंजका कृपा चौधरीले खेलको ५६ औं मिनटमा गोल थप्दै खेललाई २–० को स्थितीमा पुर्याए । विवेक चौधरीको क्रस बललाई कृपाले गोलमा परिणत गरे । खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखियो ।
खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगंजलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।
बी डिभीजन क्लब बीरगंज सामु निरिह देखिएको बागमतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपी बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगंजका उत्कृष्ट प्रहार बचाउ गरेका थिए ।
खेलको आठौं मिनटमा कृपा चौधरीको उत्कृष्ट प्रहार वागमतीका गोलरक्षकले विफल पारेका थिए । २६ औं मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा वागमतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ गरे ।
खेलको ३४ औं मिनटमा कृपा चौधरीको प्रहार वागमतीका आफ्रिकी डिफेण्डर मौसाले गोललाइनबाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो ।
त्यस लगतै खेलको ३८ औं मिनटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्स भित्रबाट गरेको सशक्त प्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए ।वीरगंजको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हात पारे ।
प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केविए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।