घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
2 मि. पढ्न लाग्ने समय

पर्सा– घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो ।

वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले जानकारी दिए । उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२०) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफू विरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गते देखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए ।

यही चैत ६ गते साह पक्राउ परेपछि मुद्दा मिलाइ दिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादव माथि आरोप छ । यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएका थिए ।

त्यस सम्बन्धी विभिन्न अडियो प्रमाण समेत भेटिएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । अडियोरभिडियो फेला परेपछि यादवलाई निलम्बन गरी अनुसन्धान थालिएको स्रोतले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस