जीतपुरसिमरा गोल्डकप १३ औं संस्करणको तयारी अन्तिम चरणमा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 325
2 मि. पढ्न लाग्ने समय

बारा–मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भईरहेको आयोजकले जनाएको छ ।

उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । रंगशालामा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाए । लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमले सहभागिता जनाउने निश्चित भएको छ ।

साविक विजेता न्युरोड कर्नर टिम ९एनआरटी०, उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका वीरगन्ज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजकले प्रतियोगितामा सहभागिता जनाउनेछन् । चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र चितवनबीच हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्र्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् भने उदयीमान खेलाडीले नगद १५ हजार पाउनेछन् ।

प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाईटमा हुनेछन् । पछिल्लो दुई वर्षदेखि सिमरा रंगशालामा रात्री समयमा खेल भईरहेको छ । गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाईटमा खेल संचालन गर्न थालेको हो ।

रात्रीको समयमा खेल हुँदा दर्शकको बाक्लो उपस्थिती हुँदै आएको छ । आयोजकले प्रतियोगिता संचालन गर्न अनुमानित एक करोड ६ लाख रुपैया खर्च हुने जनाएको छ । प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिका, जगदम्बा स्टील्स्सहित स्थानीय कलकारखाना, उद्योगीव्यवसायी र स्थानीयले सहयोग गरेका छन् ।

जीतपुरसिमराको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्नका लागि प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने भन्दै स्थानीय समेत उत्साहित भएका छन् । मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचय स्थापित गरेको जीतपुरसिमरा गोल्डकपको खेल हेर्न बारा जिल्लासहित वीरगन्ज, निजगढ, चन्द्रनिगाहपुर, हेटौडालगायतको शहरबाट दर्शक सिमरा आउने गरेका छन् ।

यो लेख शेयर गर्नुहोस