बारामा जनप्रतिनिधी र राजनीतिक दलकै संरक्षणमा वन ‘अतिक्रमण र फडानी’

पवन यादव
पवन यादव पाठक संख्या - 312
4 मि. पढ्न लाग्ने समय

बारा– बारा जिल्लाको वन दिनप्रतिदिन अतिक्रमण र फडानीको चपेटामा पर्दै गएको छ । वन क्षेत्र अतिक्रमण गरी होटेल, रेष्टुरेन्ट, बस्ती बस्न थालेपछि वनको अस्तित्व जोखिममा परेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाका विभिन्न राजनीतिक दलका नेता, निर्वाचित जनप्रतिनिधी र जिल्लाका उच्च सुरक्षा ओहोदामा बसेका अधिकारीहरुकै संरक्षणमा वन क्षेत्र दिनप्रतिदिन अतिक्रमित हुन थालेको सरोकारवालाले आरोप लगाएका छन ।

पहिला बाख्रा चराउन र दाउरा लिन वन प्रवेश गर्ने, हरियो रुखलाई सुकाउन त्यसको हरियो बोक्रा धारिलो हतियारले कोट्याईदिने, त्यसको केही दिनमै रुख सुक्न थाल्छ । सुकेको रुखको हांगाबिंगा दाउराको लागी काट्ने र पछि सिंगो सुकेको रुखलाई ढालीदिने र विस्तारै त्यसलाई चिर्दै दाउराको भारी घरसम्म पुर्याएर जग्गा खाली बनाईदिने काम अतिक्रमणकारीको तर्फबाट हुने गरेको एक जानकारले बताए ।

यसरी नै विस्तारै खाली भएको जग्गालाई धार्मिक प्रयोजन तथा सामाजिक प्रयोजनका निम्ती प्रयोग गरिने जग्गामा एउटा÷दुईटा गर्दै दर्जनौं घरहरु सुकुम्वासीको नाममा निर्माण हुन्छ । र त्यहा कसैले हस्तक्षेप गर्न पाउन नसक्ने गरी बस्ती नै निर्माण हुन्छ । त्यस्ता बस्तीका परिवारलाई राजनीतिक दलका नेताहरुले विकासका नाममा सेवा सुविधा उपलब्ध गराउछन । सुकुमवासी भनाउदाहरुलाई निर्वाचनमा भोट पाउनकै लागी संरक्षण गर्दै आईरहेको जानकारहरुको भनाई छ ।

यसरी नै बारामा वन क्षेत्र अतिक्रमण तथा फडानीको शिलशिला चलीरहेको जानकारहरुको बुझाई छ । यसरी दलिय संरक्षणमा अतिक्रमण तथा फडानी हुदै गरेको वन क्षेत्रलाई जोगाउन डिभिजन वन कार्यालयलाई समेत कठिनाई हुने गरेको वन संरक्षणकर्मीहरुले बताएका छन ।

‘वन अतिक्रमण गरी शहरी क्षेत्रको रुपमा विकास भएको पथलैया, चकरी, पिलुवा, डकाहा, टांगियावस्ती, काटगाउ, महेन्द्रनगर, डुमरवाना, लामीडाडा, रामनगर, मधुवन लगायतका गाउ बसेको उदाहरण पनि छन,’ ती जानकारले भने, ‘सुरुमा चुप लागेका वन संरक्षणकर्मीले अहिले तनावमा छन ।’ वन अतिक्रमण गरी बसेका व्यक्तीहरुले वन अतिक्रमण र फडानीको क्रियाकलाप दोहोर्याई रहेको ती जानकारले बताए ।

तर वन अधिकारी तथा वन सुरक्षाकर्मी राजनीतिक दबाव, प्रभावकै कारण अतिक्रमित क्षेत्र खाली गराउन नसकेको अवस्था अहिले पनि कायमै रहेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

‘वनको अस्तित्व जोगाउन सरकार पनि त्यतीकै जिम्मेवार छ,’ उनले भने, ‘वन क्षेत्र साँघुरिदै गएको कारण वन्यजन्तुहरु खुल्ला रुपमा आहार विहार गर्न पाईरहेका छैनन ।’ फलस्वरुप वन भन्दा कोशौ टाढा रहेको वस्तीमा पसेर जनधनको क्षति पुर्याईरहेको उनले बताए ।

सबैले वन र वन्यजन्तुलाई संरक्षण तथा माया गर्नु पर्नेमा नागरिक अगुवा दासको जोड छ । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद प्रसाद सिंहले आफु आउनु भन्दा अगाडी नै ठुलो क्षेत्रफलमा बारामा वन अतिक्रमण भईसकेको बताए ।

‘नयाँ अतिक्रमण हुन दिईएको छैन,’ उनले भने, ‘वन क्षेत्र अतिक्रमण र फडानी हुनबाट जोगाउन अफु सहित वन कर्मचारी सक्रिय छौं ।’ आफ्नो पालामा एक ईन्च वन क्षेत्र अतिक्रमण हुन नदिने अडान डिभिजन प्रमुख सिंहले लिएको बताए ।

खाली जग्गामा वृक्षारोपण गरिएको बिरुवा काटेर नष्ट गर्ने वडाध्यक्ष सहितको व्यक्तीहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरिएको उनले बताए ।

वन तथा वन्यजन्तुलाई हानी नोक्सानी पुर्याउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन आफु पछि नपर्ने डिभिजन प्रमुख सिंहले बताए । वन कार्यालय बाराले प्रत्येक वर्ष एक सय हेक्टर क्षेत्रफलको दरले वन क्षेत्र अतिक्रमण हुने गरेको बताईएको छ ।

राजनैतिक अस्थिरता, बारामा लामो समय देखि कार्यरत रहेका वन कर्मचारीहरु, वन तस्कर र अतिक्रमणकारीहरुसंग रहेको साटगाठ र वन क्षेत्रको नजदिकमा संचालन गरिएका ईटा भठ्ठाहरु वन अतिक्रमण र फडानीको मुख्य कारणको रुपमा रहेको सरोकारवालाको भनाई छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस