कलैयाको अधुरो सडकलाई कालोपत्रे नगरिए आन्दोलनमा उत्रिने स्थानीयको चेतावनी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 337
4 मि. पढ्न लाग्ने समय

बारा– मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत कलैया बजार क्षेत्रको सडक अझै कालोपत्रे हुन सकेको छैन । बजार क्षेत्रको अतिक्रमण समयमा हटाउन नसकिदा ठेकेदारले अधुरै सडक छाडेर भागेको थियो ।

मुआब्जाको आडमा स्थानीय नेताले अतिक्रमण खाली गराउन अवरोध खडागरेपछि सडक निर्माणमा समस्या भएको थियो । बजार क्षेत्रको सडक कालोपत्रे हुन नसक्नुमा स्थानीय नेता र सडक छेउका घर भएकाहरु बढी दोषी देखिएको सरोकारवालाले आरोप लगाएका छन ।

अनावश्यक कुराकोपछि लागेर समयमै सडकमा पर्ने भौतिक संरचना खाली गराउनमा सहयोग गुर्नको साटो भौतिक संरचना राखि राख्नमा सहयोग गर्ने नेताहरुको दाउपेचको कारण अहिले सम्म सडक अधुरो छ ।

पुरानो ठेकेदार भागेपछि भौतिक पुर्वाधार मन्त्रालय हुलाकी सडक आयोजना कार्यालय बीरगंजले टेण्डर आहवान गरी दोस्रो पटक ठेक्का लगाएको छ । तर नेताहरुको संरक्षणमा ठेक्का साकार गरी मनोपोली गर्दै आएको ठेकेदार कम्पनी अहिले सम्म बेपत्ता रहेको छ ।

ठेक्का लगाईसकेको सडक निर्माण गर्न ठेकेदार कम्पनीले आनाकानी गर्दै सम्पर्क विहिन बनेको हुलाकी सडक आयोजना कार्यालय बीरगंजका प्रमुख दरोगा प्रसाद साहले जानकारी दिए ।

आफुहरु बारम्वार ठेकेदार कम्पनीलाई लिखित पत्राचार गर्दा र कारवाही गर्न चेतावनी दिदा सम्म ठेकेदारले अटेरी गरेको उनले गुनासो गरे ।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत बाकी रहेको सडक वरीपरीको अतिक्रमित क्षेत्र अहिले पुरे खाली भईसकेको र ठेकेदारले सडक बनाउने काम अहिले सम्म सुरु गर्न नसकेको कलैया उपमहानगरपालिकाका प्रमुख विनोद कुमारी साहले जानकारी दिए ।

‘चाडो भन्दा चाडो सडकलाई कालोपत्रे गराउन हुलाकी आयोजना कार्यालय बीरगंजका प्रमुखसंग समन्वय भईरहेको छ,’ उनले भने, ‘चाडै नै सडक कालोपत्रे गर्ने काम सुरु हुन्छ ।’ कलैया नगरको मुहारलाई नै कुरुप बनाएको अधुरो हुलाकी सडकलाई कालोपत्रे गराउन आफुले अथक प्रयास गरीरहेको मेयर साहले जानकारी दिए ।

भौतिक संरचना खाली गर्नमा ढिलाई गरिएको बजार क्षेत्रको सडक अधुरै रहन गएको बताईएको छ । साविक सडकको मध्य भाग देखि दाया बायाँ १५÷१५ मिटर स्थानीयहरुको जग्गा अधिग्रहण गरेर सडक निर्माण कार्य अगाडि बढाइएको थियो ।

तर कलैया बजार क्षेत्रका केही स्थानीयहरुले कलैया बजार क्षेत्रमा ७.५÷७.५ मिटर सडक निर्माण गर्न माँग गर्दै बिरोध सुरु गरेका थिए । केही स्थानीयहरुको बिरोधको बावजुत कलैया बजार क्षेत्रमा पनि १५÷१५ मिटर मै हुलाकी सडक बन्ने भएपछि उनीहरुले मुअब्जा बढाउन माँग गर्दै बिरोध सुरु गरेका थिए ।

मुअब्जा बढाउन र ७.५÷७.५ मिटरमै कलैया बजार क्षेत्रको सडक बनाउनमा बिरोध गर्ने स्वार्थी समुहलाई राजनीतिक संरक्षण समेत गरिएको कारणले सडक अधुरै रहन गएको कलैयाका सुनिल कुशवाहाले आरोप लगाए ।

यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यहरु र प्रतिनिधीसभा सदस्यको भुमिका सडक निर्माण गर्नु भन्दा भोट बढाउने कार्य गरेका कारणले अहिले धुलो खानु पर्ने अवस्था आएको कुशवाहाले बताए ।

गाडीको चाप बढदै गएको कारणले अधुरो रहन गएको मदिन टोल देखि भरतचोक सम्मको हुलाकी सडकमा धुलोको कारणले हिलडुल गर्न नसकिने अवस्था रहेको उनले बताए ।

कलैया बजार क्षेत्रका सडक निर्माण हुन नसकेको कारणले सरकारको एक अर्ब भन्दा बढी लगानी र स्थानीयहरुले सडकको लागि भत्काएको भौतिक संरचना दुबै व्यर्थ जाने अवस्थामा पुगेको गुनासो स्थानीयले गरेका छन ।

२७ किलोमिटर लामो मानमत–कलैया–मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिष÷डिएस जेभी निर्माण कम्पनीले २०७६ बैशाख महिना सम्ममा निर्माण सम्पन्न गर्न ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गभई बाकीको भागमा सडक कालोपत्रे गरिएको थियो ।

अधुरो रहेको सडकलाई चाडो भन्दा चाडो कालोपत्रे गर्न स्थानीयले माग गरेका छन । सडक निर्माणमा अझै ढिलाई भए आफुहरु आन्दोलनमा उत्रिने चेतावनी स्थानीयले दिएका छ ।

ठेक्काको सयम बितेपछि अधुरो रहन गएको साढे तीन किलोमिटर सडकलाई निर्माण गर्न समस्या देखिएको स्थानीयले बताए ।

सडकमा पर्ने स्थानीयहरुले घर टहरा हटाए पनि खाने पानीको पाइप व्यवस्थापन र बिद्युतीय पोल व्यवस्थापन गर्न समेत ढिलाई भएको स्थानीयको गुनासो छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस