बारा– सडक जहिले पनि सफा र चिटिक्क हुनु पर्छ । सडक जहिल्यै पनि यात्रा योग्य हुनु पर्छ । सडकमा आवतजावतकर्ताहरु सहज रुपले यात्रा गर्न पाउनु पर्छ । सडकमा सबैको बराबर अधिकार हुन्छ ।
यसको संरक्षण गर्ने मुख्य दायित्व सरकारी निकायकै हुने कानुनी व्यवस्था छ । जनप्रतिनिधी पनि त्यतीकै जिम्मेवार हुनु पर्छ । तर कलैया उपमहानगरपालिका वडा नम्बर १ का सडकमा घर भित्रको फोहोर पानी सडकमै खन्याउदा वडाध्यक्षको आँखाले किन देख्न सकीरहेको छैन ? वडाध्यक्ष मोहन बहादुर क्षेत्री सहित वडा कार्यलयमा कार्यरत कर्मचारीहरु फोहोर पानी जमेकै सडक भएर आवतजावत गर्ने गर्छन ।
तर सडकमा जमेको पानीको कारण पता लगाउन र त्यसको दिर्घकालिन समाधानको उपाय अहिले सम्म लगाउन सकेका छैनन् । कलैया तीनकुने चोक भन्दा पुर्व रजेदेवी मन्दिर सडकमा जोडिने सडकको केही भाग वर्षौ देखी फोहोर पानीले जलमग्न रहने गरेको पीडितले गुनासो गरेका छन ।
सडकमा तिब्र गतिमा मोटरसाईकल समेत गुडने गरेको र सडकको फहोर पानी पैदल यात्रुको शरिरमा छर्ने गरेको गुनासो स्थानीय छोटेलाल कुशवाहाले गरे ।
‘फोहोर पानी पुरै सडकमा भरिएको हुन्छ,’ उनले भने, ‘त्यसलाई छल्न पैदल यात्रुलाई समेत समस्या हुने गरेको छ ।’ वडाध्यक्षलाई पटक पटक गुनासो गर्दा पनि सडकमा फोहोर पानी बगाउने कार्य अझै नरोकिएको उनले गुनासो गरे ।
यो सडक कहिले सुकको भेटिदैन । कलैया उपमहानगरपालिकाले सडकमा पानी बगाउनेलाई नियमन नगर्दा दिन प्रतिदिन सडकलाई नै नालाको रुपमा प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढदै गएको उनले जानकारी दिए ।
कहिलेकाही कलैया उपमहानगरपालिकाका निर्वाचित मेयर विनोद साह पनि फोहोर पानीले जलमग्न सडकलाई छिचोल्दै यात्रा गर्ने गरेको स्थानीयले बताए । तर अहिले सम्म समस्या समाधानको उपाय न निकालेको स्थानियको आरोप छ ।
कलैया उपमहानगरपालिकाले त्यस क्षेत्रका बासिन्दासंग कर असुलीरहेपनि सडक र नालाको समस्या समाधान गर्न चासो नदेखाएको स्थानीयको आरोप छ ।
उपमहानगरपालिकाले कि त त्यस क्षेत्रको सडक किनारमा नाला निर्माण गरी ढलको उचित निकास दिनु पर्यो वा सडकलाई ढलको रुपमा प्रयोग गर्ने घरधनीलाई कानुनी कारवाहीको दायरामा ल्याई सडकमा पानी फाल्ने काम रोकिनु पर्ने माग स्थानीयको छ ।
त्यस क्षेत्रका महिला तथा पुरुषहरु पुजापाठ गर्न सिद्धेश्वरनाथ महादेव मन्दिर जादा फोहोर पानीलाई टेकेर आवतजावत गर्न वाध्य भएको पीडितहरुको गुनासो छ ।
त्यती मात्र होईन । सयौंको संखयामा दिनहु विद्यालय ओहोर दाहोर गर्ने विद्यार्थीहरुले त्यही फोहोर पानीको छिटाले विद्यालय पोशाक तथा जुता फोहोर पार्ने गरेको स्थानीय अभिभावकले गुनासो गरेका छन । सडकमा घर भित्रको फोहोर पानी फाल्ने काम अविलम्ब रोकिनु पर्ने माग स्थानीयले गरेका छन ।