बारा– जग्गा किर्ते मुद्दामा जनता समाजवादी पार्टी बाराका नेता अजय पटेललाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।
किर्ते गरी जग्गा हत्याउने काम गरेको आरोपमा अनुसन्धानको लागी सिआईबी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले परवानीपुर गाउपालिका वडा नम्बर ५ निवासी ४५ वर्षिय पटेललाई पक्राउ गरेको हो ।
पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए ।
‘किर्ते मुद्दाको अनुसन्धान सिआईबीले गरीरहेको छ,’ उनले भने, ‘हामीले पटेललाई पक्राउ गर्न सहयोग मात्र गरिदिएका छौं ।’ पटेलले गरेको किर्ते मुद्दा सिआईबीले नै हेरीरहेकोले यसमा धेरै जानकारी आफुलाई नरहेको उनले बताए ।
जनता समाजवादी पार्टी बाराका पुर्व जिल्ला अध्यक्ष समेत रहेका पटेलले आफन्तकै नाममा रहेको जग्गा हातपार्न सरकारी कागज किर्ते गरेको आरोप सिआईबीले लगाएको उनले बताए ।
पटेलले किर्ते गरेको उजुरी सिआईबीमा परेपछि उनलाई पक्राउ गर्न खोजतलाश सुरु गरिएको थियो । मुद्दा परेपछि लुकीछिपी बस्दै आएका पटेललाई उनकै गाउबाट पक्राउ गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।