जगदम्बा जीतपुरसिमरा गोल्डकप चैत ९ गते देखि सुरु हुदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
2 मि. पढ्न लाग्ने समय

बारा– जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि सुरु हुने भएको छ ।  सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे आयोजक नव जन जागृती युवा क्लबले सोमवार सिमरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा ५ वटा ए डिभीजन क्लब र ५ वटा मोफसलका गरी १० वटा टिमको सहभागी हुने आयोजकले जनाएको छ । साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पाक्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, बिरगंज युनाइटेड क्लब र आयोजक नव जन जागृती युवा क्लबले प्रतियोगितामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन । प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अघिल्लो संस्करणबाट मूख्य प्रायोजकका रुपमा आएको जगदम्बा स्टिलले यस वर्षका लागि सम्झौता नविकरण गरेको हो ।

प्रतियोगिताको व्यवस्थापनमा जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नव जन जागृति यूवा क्लबले जनाएको छ । सूर्य नेपाल प्रा.लि.को मूख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता बृद्धि गरिएको क्लबका शम्भु सिंह ठकुरीले जानकारी दिए ।

यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्नेछन् । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमूख भोला प्रसाद अधिकारीको प्रमूख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि तथा क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस