पर्सा निकुञ्जमा पाटे बाघको संख्या बढाउने सरकारको योजना सार्वजनिक

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
2 मि. पढ्न लाग्ने समय

बारा–पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढाउने सरकारको योजना आईतवार निकुञ्ज मुख्यालय बाराको आधाधारमा सार्वजनिक गरिएको छ ।

निकुञ्ज मुख्यालयका प्रमुख डा. अशोक रामले कार्यलय परिसरमा एक कार्यक्रमको आयोजना गरी आउने दिनमा निकुञ्जमा पाटे बाघको संख्या २ सय ५० पुर्याउने सरकारको योजना सार्वजनिक गरेका हुन ।

सन २०२२ मा गरिएको बाघ गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा एक सय २१ वटा पाटे बाघको संख्या पुगेको उनले जानकारी दिए । पछिल्लो समय निकुञ्जमा वन्यजन्तु तथा चराचुरुङ्गीको संख्या अप्रत्याशित रुपले बढेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए ।

उनका अनुसार निकुञ्जमा अहिले ३ सय ३६ प्रजातिका वनस्पति, ३६ प्रजातिको स्तनधारी, ४ सय ९० प्रजातिको चराचुरुङ्गी, १३ प्रजातिको सरिसृप र ३१ प्रजातिको पुतली रहेका छन् ।

यसैगरी निकुञ्जमा हात्ती, पाटेबाघ, गैंडा, गौरीगाई, जंङ्गली कुकुर, चितुवा, जरायो, निलगाई, अंजिङ्गर, किङ्गकोब्रा, राजधनेश लगायतका ३६ प्रजातिको स्तनधारी, १७ प्रजातिको दुर्लभ र २० प्रजातिको साधारण वन्यजन्तु रहेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए ।

निकुञ्जमा सन २०१८ को बाघ गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा वयस्क बाघ रहेको, ३ देखि ५ वटा गैंडा र एक सय ५ वटा गौंरीगाई रहेको जनाईएको छ । यसैगरी निकुञ्जको ९० प्रतिशत क्षेत्रफलमा साल, खयर सिसौं र ६ प्रकारको वन बिरुवा, रुख रहेको जनाईएको छ ।

विक्रम संम्वत २०४० बैशाख ५ गते सोमबारको मन्त्रिपरिषदबाट निर्णय भएर बारा, पर्सा र मकवानपुर जिल्लाको केही भेग समेटेर चार सय ९९ वर्ग किलोमिटर क्षेत्रफललाई पर्सा वन्यजन्तु आरक्ष घोषणा गरिएको थियो ।

त्यसपछि विक्रम संम्वत २०७२ भदौ ७ गते बसेको मन्त्री परिषदको बैठकले तत्कालिन आरक्षलाई बारा जिल्लाको १२८.३९ वर्ग किलोमिटर राष्ट्रिय वनलाई समेत समेटेर हालको दिनमा ६ सय २७ दशमलव ३९ वर्ग किलोमिटर क्षेत्रफलमा पुर्याएएको थियो ।

यसैगरी विक्रम संम्वत २०७४ बैशाख २५ गते बसेको मन्त्रि परिषदको बैठकले आरक्षलाई पर्सा राष्ट्रिय निकुञ्जमा परिणत गरेको उनले जानकारी दिए । हाल निकुञ्जमा एक जना प्रमुख संरक्षण अधिकृत, ३ जना सहायक प्रमुख संरक्षण अघिकृत, ३ वटा फाँट अन्र्तगत २ वटा सेक्टर कार्यालय, ४ वटा पोष्टहरु, निकुञ्ज तर्फ एक सय एक र हात्तीसार तर्फ ३२ जना कर्मचारी गरी एक सय ३३ जनाको दरबन्दी कायम गरिएको उनले जानकारी दिए ।

 

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस