जितपुरसिमरा उपमहानगरलाई फोहोर उपहार, कार्यालयको मुलगेटमै फोहोरको थुप्रो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 890
3 मि. पढ्न लाग्ने समय

जीतपुर– जथाभावी थुप्रिएको फोहोरले नगर क्षेत्र दुर्गन्धित बनेपछि आक्रोशित स्थानीय युवाहरुको समुहले त्यसको विरोध गर्दै जितपुर सिमरा उपमहानगरपालिकालाई फाहोर दिएका छन । आक्रोशित युवाहरुको समुहले सिमरा बजार क्षेत्रबाट आफैले फोहोर संकलन गरी ट्रेक्टरमा लोड गरी जितपुर सिमरा उपमहानगरपालिका कार्यालयलाई उपहार दिएका हुन ।

उपहार स्वरुप दिईएको फोहोर कार्यालयको मुख्य प्रवेशद्वारमा थुपारिएको छ । फोहोर उठाउन उपमहानगरपालिकाले चासो नदेखाएपछि उनीहरुले त्यसको विरोध गर्दै कार्यालयको मुलगेटमै उपहार स्वरुप फोहोर थुपारिएको स्थानीयले बताएका छन । फोहोर उठाउन वारम्बार ताकेदा गर्दा पनि जनप्रतिनिधीले चासो नदेखाएपछि कार्यालयको गेटमा फोहोर फालेर विरोध जनाउनु परेको स्थानीय युवक किशन ढकालले बताए । फोहोर व्यवस्थापन गर्न उपमहानरपालिकाले बेवास्ता गरेपछि त्यसको सांकेतिक विरोध स्वरुप बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा उपहार पठाईएको उनले बताए ।

बजारमा दुर्गन्ध बढेपछि बाध्य भएर उपमहानगरपालिकाको गेटमा फोहोर थुपार्नु परेको ढकालले बताए । ‘आफुहरुले जति भन्दा पनि उपमहानगरका जनप्रतिनिधीले सुनेन्,’ उनले भने, ‘त्यसपछि बाध्य भएर उपमहानगरपालिकालाई बजारको फोहोर उपहार पठाएका हौं ।’ उपमहानगरपालिका मेयर कृष्ण पौडेल, प्रशासकिय अधिकृत, उपमेयर सरस्वती चौधरी, सम्बन्धित वडाध्यक्षलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि ध्यानाकर्षण गराईएपनि उनीहरुले कानमा तेल हालेर बसेपछि उपमहानगरपालिका कार्यालयमै फोहोर थुपार्न बाध्य हुनु परेको उनको भनाइ छ ।

उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधीको कार्यकाल सक्न लागेपनि अहिले सम्म डम्पीङ साईडको व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन । उपमहानगरपालिकाले फोहोर संकलन गर्न ठेक्का लगाएपनि ठेकेदारले विगत २ महिना देखी फोहोर नउठाएको सिमराका स्थानीय बासिन्दाले बताएका छन ।

सडकको फोहोर नउठेपछि नगर क्षेत्र नै दुर्गन्धित बनेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए । ‘फोहोर व्यवस्थान गरेर नगरलाई सफासुग्घर राख्नु पर्छ,’ उनले भने, ‘सडकको फोहोरले नगर कुरुप बनेको छ ।’ नगरलाई सुन्दर र सफा बनाउन फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायसंग उनले आग्रह समेत गरे । नगरक्षेत्रबाट संकलित फोहोर औराहा स्थित दुधौरा खोलामा जथाभावी फाल्ने र नदीलाई प्रदुषित बनाउने क्रमबढेपछि स्थानीयले त्यसको विरोध गरेका छन ।

स्थानीयले विरोध गर्दैै दुधौरा खोलामा फाहोर फाल्न अवरोध पुर्याएपछि फोहोर संकलन कार्य अवरुद्ध भएको जितपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले बताईन । अहिले पनि फोहार उठीरहेको र त्यसको व्यवस्थापन सम्बन्धित वडाले नै गरीरहेको उनले दाबी गरीन । ‘फोहोर फाल्ने डम्पीङ साईड नै बनाउन सकिएको छैन,’ उनले भनिन, ‘डम्पीङ साईडको अभावमा फोहोर व्यवस्थापनमा समस्या भईरहेको छ ।’ जितपुरसिमरा उपमहानगरपालिका १ बाट संकलित फोहोर वन क्षेत्रमा बनाईएको डम्पीङ साईडमा फाल्ने गरिएको उनले जानकारी दिईन ।

जिल्ला वन कार्यालयको विरोधको वावजुद वन क्षेत्रमा जर्बजस्ती डम्पीङ साईड बनाएर उपमहानगरपालिकाले फोहोर फालिरहेको जिल्ला वन कार्यालय बाराका प्रमुख मंजुर अहमदले बताए । ‘वन क्षेत्रमा फोहोर फाल्ने अनुमति कसैलाई दिईएको छैन,’ उनले भने, ‘जर्बजस्ती फोहोर फाल्ने गरिएको छ ।’ त्यसलाई रोक्न वन कार्यालयले कडा कदम चाल्ने तयारी गरेको उनले बताए । वन क्षेत्रलाई कसैले फोहोर फाल्न मिल्दैन । यसरी फोहोर फाल्नेलाई कारवाही गर्ने उनले चेतावनी दिए ।  स्थानीय युवाहरुले तत्काल फोहोर व्यवस्थापनको पहल नगरे हरेक दिन उपमहानगरपालिका कार्यालय बाहिर फोहोर थुपार्ने चेतावनी दिएका छन् ।

 

यो लेख शेयर गर्नुहोस