बारा– पसलबाट खाएको उधारो रकम माग्दा कलैया मदिन टोलका एक पसले आईतवार राती कुटिएका छन । कलैया उपमहानगरपालिका वडा नं. १ मदिन टोल निवसी ६८ वर्षिय रामेश्वर महतो कोईरी, ६५ वर्षिय रामचन्द्र महतो कोईरी युवकको कुटाईबाट घाईते भएका हुन ।
१२ सय रुपैयाँ उधारो नतिर्ने स्थानीय युवक २३ वर्षिय राज पटेलले बृद्धद्वयलाई कुटपिट गरी घाईते बनाएको पीडित परिवारका हरेराम पटेलले बताए । उनका अनुसार राजले खुकुरी नचाउदै प्रहार गर्न थालेपछि जम्मा भएको स्थानीयको भीडले खुकुरी खोसेका थिए । राजले गरेको प्रहारबाट दुबै बृद्धको शरिरको विभिन्न अंगमा काटिएको छ । घाउ चोट लागेको उनले बताए । ‘घाईते उधारो तिर्नु भन्दा उल्टै कुटपिट गर्नु कहाको न्याय हो,’ उनले भने, ‘सामान पनि उधारोमा खुवाउनु र पिटाउनु पनि खानु ?’ नशालु ट्याब्लेट सहितको नशा सेवन गरेर मातिएका राजले टोललाई उपद्रो लगाएको उनले जानकारी दिए । उसले यस अघि पनि गाउकै केही मान्छेलाई कुटपिट गरी घाईते बनाएको उनले बताए ।
कलैया उपमहानगरपालिका वडा नं. १ का वडासदस्यमा निर्वाचित जनप्रतिनिधी समेत रहेका हरेरामले राजलाई काुनुनी कारवाही गराउन माग समेत गरे । घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले राजलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । लागु औषध प्रयोग कर्ताहरुको संख्या बढदै जानु र यसले समाजलाई अशान्तीतिर धकेलेको जनप्रतिनिधी हरेरामको भनाई छ ।
घटनामा घाईते भएका दुबै बृद्धको कलैया अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । कुटपिटमा संलग्न युवक राज पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
विगत केही दिन यता कलैया लगायत जिल्लाको विभिन्न पालिकामा लागु औषध दुव्र्यसनीमा फस्ने युवकको संख्या वर्षेणी थपिदै गएको छ । यसले सज्जन मानिसलाई निर्वाध रुपले घुमफिर गर्न पाउने स्वतन्त्रता समेत खोसिएको पीडितहरुको भनाई छ । प्रहरी प्रशासनले यसलाई नियन्त्रण गर्नु पर्नेमा स्थानीयले जोड दिएका छन ।