तीन दिन देखी बस्ती छिरेको जंगली हाती यमगज कतरवा हुदै जंगल पस्यो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
4 मि. पढ्न लाग्ने समय

बारा– विगत तीन दिन देखी बिच्किएर बस्ती छिरेको जंगली हाती यमगज मंगलवार बिहान पुनः जंगल प्रवेश गरेको छ ।

रौतहटको बागमती नदी हुदै वृन्दावन नगरपालिकाको विश्रामपुर गाउ हुदै मानव वस्तीमा छिरेको जंगली हाती यमगज मंगलवार बिहान करीब ८ बजे बाराको कतरवा हुदै जंगल पसेको हो ।

रौतहटको विश्रामपुरमा आईतवार राती तीन वटा घरमा क्षति पुर्याएको यमगजअ सोमवार बिहान बारा प्रवेश गरेको थियो ।

बाराको बारागढी गाउपालिका, करैयामाई गाउपालिका हुदै कलैया उपमहानगरपालिका वडा नं. २६ मा आईपुगेको उक्त जंगली हाती यमगज दिनभरी सिसवा महेशपुर स्थित अकलु साहको उखु खेतमा लुकेर बसेको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले जानकारी दिए ।

सोमवार बिहान ८ बजे देखी उखु खेतमा पसेको यमगज अपरान्ह सम्म पानी खान र शरीरमा हिलो छ्याप्न चार पटक स्थानीय टेंग्रहर खोलामा पसेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै वन कार्यलय प्रमुख सिंहले जानकारी दिए ।

उखु खेतमा पसेको हातीलाई दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वनरक्षक, वन कर्मचारी, पर्सा राष्ट्रिय निकुञ्ज स्थित रहेको नेपाली सेनाको सिद्धीबक्स गण अधाभारका सेना, स्थानीवासिन्दा समेतले निगरानी गरेको उनले जानकारी दिए ।

उखु खेतमा पसेको यमगजलाई हेर्न सिसवा महेशपुर, दोहरी, पकडी, औधापुर, लंगडा लगायत गाउका सर्वसाधारणको ओईरो लागेको थियो ।

मानव वस्तीमा हातीलाई पस्न नदिन र दिउसै जंगल पु¥याउन पर्सा राष्ट्रिय निकुञ्ज स्थित रहेको नेपाली सेनाको सिद्धीबक्स गण अधाभारका लेफ्टीनेन्ट रविन्द्र बहादुर शाहीको नेतृत्वमा खटिएको नेपाली सेना तथा निकुञ्ज कर्मचारीको टोलीले निकै प्रयास गरेको थियो ।

पर्सा राष्ट्रिय निकुञ्ज स्थित रहेका नेपाली सेनाको सिद्धीबक्स गण अधाभारका प्रमुख सेनानी मुक्ती विक्रम शाहको निर्देशनमा नेपाली सेना जनताको जिवधनको सुरक्षा गर्न र हातीलाई सुरक्षित रुपले जंगल प्रवेश गराउन खटिएको थियो ।

सेनानी शाहकै निर्देशनमा लेफ्टीनेन्ट शाहीको टोलीले उखु खेतबाट हाती निकाल्न तीन राउण्ड हवाई फायर समेत गरेको थियो ।

तर यमगज केही बेर बाहिर निस्केर पुनः उखु खेतमै पसेको थियो । रात परे पनि हाती बाहिर न निस्केपछि निगरानी टोली गस्तीलाई निरन्तरता दिएको थियो ।

राती करीब १२ बजे उखु खेतबाट बाहिर निसकेको यमगज आमवा टोला हुदै कलैया उपमहानगरपालिका २ औधारपुरमा पुगेको थियो ।

हातीले औधापुरमा स्थानी केही व्यक्तीको छाप्रो समेत भत्काई दिएको कलैया सब डिभिजन वन कार्यालयका वन रक्षक श्यामसुन्दर महतोले जानकारी दिए ।

औधापुरबाट पश्चिमतिर लागेको यमगज राती करीब पौने १ बजे कलैया उपमहानगरपालिका १७ ब्रम्हपुरीमा पुगेर स्थानीय बीरमहम्मद हवारीको धान राखेको भकारी र नुरी हवारीको घरको भित्ता भत्काएको उनले जानकारी दिए ।

भकारीमा राखिएको धान खाएर हाती सुराही, ईनर्वासिरा हुदै फत्तेपुर तिर लागेको उनले जानकारी दिए ।

बिहान करीब २ बजे जितपुरसिमरा उपमहानगरपालिका १२ फतेपुर वस्तीमा पुगेको हातीले स्थानीय शिवशंकर चौधरीको घरमा सामान्य क्षति पुर्याएको हल्खोरिया सब डिभिजन वन कार्यालयका कर्मचारी श्रीभगवान यादवले बताए ।

घर बाहिर निस्केका चौधरीलाई हातीले लखेटदै बंगरी नदी सम्म पुर्याएको थियो । हातीको आखा छलेर चौधरीले आफ्नो ज्यान जोगाउन सफल भएको र हाती पुनः डकहा हुदै बंगरी नदी तिर लागेको उनले जानकारी दिए ।

बिहान ८ बजे महेन्द्रनगर कतरवा हुदै यमगज जंगल पसेपछि सुरक्षाकर्मी, वन कर्मचारी, नेपाली सेना आ आफ्नो कार्यालयमा फर्किएको उनले जानकारी दिए ।

निरन्तरको निगरानीकै कारण हातीले मानविय क्षति पुर्याउन नसकेको वन कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

हाती बस्ती क्षेत्रमा आएपछि यस क्षेत्रको जनजिवन आतंकित बनेको थियो । नेपाली सेना तथा निकुञ्कज प्रसाशनका अनुसार बस्तीमा आएको हात्ती यमगज रहेको र यही हात्तीले मनहरी, अमलेखगंज र बकैयामा ३ जनालाई मारेको जनाईएको छ ।

यो लेख शेयर गर्नुहोस