बारा– शहरी क्षेत्रको होटल छाडेर यौन व्यवसायीहरु अहिले चालक लक्षित गरेर जंगलमा यौनधन्दा संचालन गर्न थालेका छन ।
बाराको पथलैया–अमलेखगंज खण्ड अन्र्तगत पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र उनीहरुले खुलेयाम यौनजन्य क्रियाकलापमा गर्न थालेको स्थानीयले बताएका छन ।
यौनकर्मीलाई लखेदै हैरान बनेको प्रहरी चौकी पथलैयाले मंगलवार यौनजन्य क्रियाकलापमा संंलग्न ७ जना महिलालाई नियन्त्रणमा लिएको छ ।
वन क्षेत्रभित्र घाँस दाउरा गर्ने बहानामा ती महिलाहरुले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरुलाई बोलाएरै यौनजन्य क्रियाकलाप गरीरहेको पाईएको प्रहरी चौकी पथलैयाले जनाएको छ ।
यौनजन्य क्रियाकलाप गरेको आरोपमा उनीहरु नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
पक्राउ परेका महिलाहरु २० देखि ३५ वर्ष उमेर समूहका रहेको र उनीहरु वीरगंजमा डेरा लिई बस्ने महिलाहरु इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
‘नियन्त्रणमा लिईएका महिलाहरुलाई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘यसअघि पटक पटक यस्तो गतिविधि गर्ने महिलाहरुलाई नियन्त्रण लिएर सम्झाई बुझाई गरेर छोड्ने गरिएको थियो ।’ यौनजन्य क्रियाकलाप नरोकिएपछि यसपटक उनीहरुलाई नियन्त्रणमा लिएर म्याद थप गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।
जिल्लाको पथलैया–अमलेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा बसेर यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि पनि पटक पटक महिलाहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोड्ने गरेका थिए ।
ती महिलाहरू सो सडक खण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरुलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ ।
सार्वजनिक स्थल तथा जंगल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडक दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने भन्दै नियन्त्रणमा लिएका महिलाहरुको एचआईभी परीक्षण गर्ने प्रहरीले जनाएको छ ।