बारा– लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया बिहिवार परवानीपुरमा सम्पन्न भएको छ ।
परवानीपुर गाउपालिकामा निर्वाचित पुरुष वडाध्यक्ष तथा वडासदस्यहरुसंग महिला जनप्रतिनिधीहरुको भुमिका बारे अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा परवानीपुर गाउपालिकामा निर्वाचित वडाध्यक्ष र पुरुष वडा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
आईफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग र अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको सहजिकरणमा कार्यक्रम परवानीपुर गाउपालिकाको सेमिनार हल मा सम्पन्न भएको थियो ।
स्थानीय पुरुष जनप्रतिनिधिहरुलाई लैङ्गिक समानताको अवधारणा बारे सचेत गराउनुका साथै योजना स्तर र निर्णय प्रक्रियामा स्थानीय तहमा निर्वाचित महिला प्रतिनिधिहरुको सहभागिता सम्बन्धी देखिएका खाडल, चुनौती, समस्या र असल अभ्यासहरुको बारेमा छलफल गर्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
परवानीपुर गाउपालिकामा निर्वाचित महिला प्रतिनिधीहरुको भुमिकामा पुरुष सदस्यहरुले कसरी सहयोगी पात्रको रुपमा कसरी भुमिका निर्वाह गर्न सक्छन भने विषयमा अन्तरक्रिया केन्द्रित बनेको थियो ।
कार्यक्रममा सहभागी पुरुष वडाध्यक्ष तथा वडासदस्यहरुले आगामी दिनमा निर्वाचित महिला प्रतिनिधी र समुदायका अन्य महिला सहकर्मीहरुलाई नेतृत्वमा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमको उदेश्य बारे माण्डवी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रममा मास्टर प्रशिक्षक निभा कुमारी सिंह र रामअंज्ञा साहले सहजीकरण गरेका थिए ।