बारा–ईलाका प्रहरी कार्यालय सिम्रौनगढले बुधवार दुई हजार मुल्य बराबरको किराना सामाग्री नियन्त्रणमा लिएको छ ।
साईकलमा राखेर भारतबाट अवैध रुपले नेपाल भित्रियाउदै गरेको अवस्थामा सिम्रौनगढ नगरपालिका वडा नं. ९ झरोखर पोखरी नजिकैबाट बिस्कुट, खाने तेल, नुहाउने साबुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलीलाई देखेर अपरिचित व्यक्ती फरार भएपछि उक्त मालसामान बरामद गरिएको ईप्रका सिम्रौनगढले दाबी गरेको छ ।
बरामद भएको मालसामान आवश्यक कानुनी कारवाहीको लागी ईप्रका सिम्रौनगढमा राखिएको प्रहरीले जनाएको छ ।
देशको प्रधानमन्त्री र गृहमन्त्री फेरिए लगतै प्रहरीले भारतबाट अवैध रुपले भित्रिदै आएको मालसामान रोक्न कडाई गरेको स्थानीयले बताएका छन ।
प्रहरीले तस्करको माल सामान मात्र होईन घरकाजको लागी भारतबाट खरीद गरी ल्याउन लागेका मालसामान पनि सर्वसाधारणलाई ल्याउन नदिएको सिमावर्ती आसपासका वासिन्दाले गुनासो गरेका छन ।
उपप्रधान तथा गृहमन्त्री रवी लामीछानेले तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरीका महानिरिक्षक समेतका सुरक्षाधिकारीलाई कडा निर्देशन दिएपछि सिमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाई गरेको हो ।
‘सेटिङ्गमा तस्करी गर्दै आएका तस्करहरु रातको समयमा मालसामान नेपाल भित्रियाउछन,’ सिम्रौनगढकै एक स्थानीयले भने, ‘सर्वसाधारणले घरकाजको लागी दिउसो मात्रै किनमेल गरी ल्याउछन ।’ दिनमा प्रहरीले कडाई गरेको देखिन्छ । रातमा त मालसामान भित्रिरहन्छ कि रहदैन आफुलाई जानकारी नभएको उनले बताए ।
गृहमन्त्रीले त तस्करी नियन्त्रण गर्न निर्देशन दिए होलान । सर्वसाधारणको घरायसी सामान रोक्न प्रहरीलाई पक्कै निर्देशन नदिएको होलान भन्दै उनले प्रहरीको कार्यशैली प्रति आक्रोश पोखे ।