बारामा छुटाछुटै दुर्घटनामा दुईको मृत्यु, दुई गम्भिर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 360
2 मि. पढ्न लाग्ने समय

बारा, बारामा भएको दुई वटा छुटाछुटै सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । दुई जना गम्भिर घाईते भएका छन ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । भने सोही दुर्घटनामा परी दुई जना महिला घाइते भएका छन् ।

निजगढबाट पथलैयातर्फ जादै गरेको ग २ च ४४१३ नम्बरको स्कोरपियोले सोही दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाईकल चालक जीतपुरसिमरा १६ टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी टागियावस्तीकै साईकल चालक २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् ।

घाइते दुबै जनालाई सिमरामा प्राथमिक उपचार गरी थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

माझी सवार मोटरसाइकललाई ठक्कर दिएपछि स्कोरपियोले महिला चढेको साइकललाई पनि ठक्कर दिएको थियो । उनीहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउँदै थिए ।

मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनीहरुलाई तीव्र गतिमा रहेको स्कोरपियोले ठक्कर दिएको थियो ।

दुर्घटनाका घाइतेलाई घटनास्थलमा पुगेका जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धार गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

सिमराबाट जनकपुरतर्फ जाने क्रममा घटनास्थल पुगेका प्रमुख र उपप्रमुखले आफू सवार गाडीमा घाइतेको उद्धार गरेका थिए ।

त्यसैगरी जीतपुरसिमरा २ स्थित जगदम्बा स्टिल्स् अगाडि बुधबार राति भएको अर्को सवारी दुर्घटनामा पहिचान नखुलेको एक जना पुरुषको ज्यान गएको छ ।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आइरहेको ना २०प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ती युवकको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस