‘सार्वजनीक हितको काम गर्दा अवहेलना र जग्गा खिचोला मुद्दा’ सांसद यादव

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.5k
4 मि. पढ्न लाग्ने समय

?पवन यादव
बारा– बारामा सार्वजनिक हितको काम गर्दा बारा निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधी सभा सदस्य रामबाबु कुमार यादवले अवहेलना मुद्दा खेप्नु परेको छ ।

सडक विभागले ठेक्का प्रकृया मार्फत निर्माण गरेको बडहर्वा–डुमरवाना खण्ड अन्र्तगत बंगरी नदीको पक्की पुल संचालन ल्याउन समन्वयकारी भूमिका निर्वाह गर्दा अवहेलना र जग्गा खिचोला मुद्दा खेप्नु परेको निवर्तमान प्रतिनिधी सभा सदस्य यादवले गुनासो गरेका छन ।

मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधी सभाको लागी उम्मेदवारी दर्ता गरी चुनावी प्रचार प्रसार तथा घरदैलोमा व्यस्त निवर्तमान सांसद यादवले नियतवस आफुलाई दुःख दिने उदेश्यले एकै पटक दुईवटा मुद्दा बारा जिल्ला अदालतमा दर्ता भएको बताएका छन ।

चुनावी प्रचार प्रसारलाई प्रभावित पार्ने तथा आफुलाई मानसिक यातना दिने अभिप्रायले आफु विरुद्ध यसरी अदालतमा मुद्दा दायर भएको उनले बताएका छन ।

जग्गा खिचोला र अवहेलना मुद्दामा सोमवार बारा जिल्ला अदालतमा प्रत्युत्तर लगाएपछि निवर्तमान सांसद यादवले जिल्ला अदालतको गेटमै पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो रानीतिक जिवन समाप्त पार्न षडयन्त्र पुर्वक झुठ मुद्दामा अल्झाउन खोजिएको गुनासो गरेका छन ।

‘आफुले अहिलेसम्म अदालतको अवहेलनाको गरेको छैन,’ उनले भने, ‘अदालतको अवहेलना हुने किसिमको कुनै काम मैले गरेको छैन ।’ पुल संचालनको विषयमा विवाद भई मुटभेडको अवस्था सृजना भएपछि यसै क्षेत्रको सांसदको हैसियतले विवाद साम्य पार्न आफुले समन्वयकारी भूमिका निर्वाह गरेको उनले बताए ।

पुलको मुखमा खाल्डो रहेको र त्यसबाट पुल सदुपयोग हुन नसकेपछि स्थानीयको माग अनुसार माटो पुर्ने र ग्राभेल छर्ने काम भएको उनले बताए ।

यसमा संसदिय कोटाको बजेट होईन स्थानीय सरकारको सहयोगमा काम भएको र त्यसपछि पुल संचालनमा आएको उनले बताए । पुल संचालनमा आएपछि पुल बनाउने ठेकेदार, सडक विभागलाई छाडेर राजनीतिक प्रतिशोधको भावनामा बगेर आफुलाई नै विपक्षी बनाई अदालतमा मुद्दा दायर भएको उनले जानकारी दिए ।

सरकारको करोडौं रुपैयाँ खर्च गरेर निर्माण भएको पुल संचालनमा आएपछि सो पक्की पुल निजी जग्गामा निर्माण भएको भन्दै सखरा हाउजिंग कम्पनी प्रालिको तर्फबाट अधिकार प्राप्त हाल कलैया उपमहानगरपालिका २४ बस्ने रामेश्वर प्रसाद यादवले अदालतमा मुद्दा दायर गरेको जनाईएको छ ।

पुल निर्माणको क्रममा उजुरी नगर्नु र पुल निर्माण भएपछि सरकारी रकम हात पार्ने उदेश्यले झुठो भ्रम छर्ने नियतले सांसदलाई नै विपक्षी बनाईएको यादवले आरोप लगाए ।

बनीसकेको पुललाई भत्काउने काम कसैबाट भयो भने त्यो जनताको हार हुने र यसले ठुलो संख्यामा सेवाग्राहीलाई प्रभाव पार्ने सांसद यादवको ठम्याई छ ।

पुल संचालनमा आएपछि जितपुर सिमरा उपमहानगरपालिकाका डुमरवाना, सिमरा, फत्तेपुर, औराहा, बकुलिया, सिमरी, मटिअरिया, पिपरिया, आमाडार, बडहर्वा, जैतापुर, मनहर्वा, लामीडाडा, पिलुवा, डकाहा लगायत गाउका वासिन्दालाई आवतजावत गर्न सजिलो भएको स्थानीय वासिन्दाले बताएका छन ।

त्यती मात्र होईन । सदरमुकाम कलैयाबाट सिमरा एयरपोर्ट पुग्न समेत पुलले सहज बनाईदिएको स्थानीयको भनाई छ । बारा जिल्ला अदालतकै न्यायधिश, सरकारी अधिकारी, व्यपारी, सर्वसाधारण सबैलाई सहज भएको स्थानीयले बताएका छन ।

सबैको यात्रा सहज बनाउने पुललाई भत्काउने कुराले पुरै समाज र सरकारलाई नै चुनौती दिएको सांसद यादवले बताए । जनतको करबाट बनेको पुललाई जोगाउन र संरक्षण गर्न सबै दल, सरकारी निकाय, स्थानीय वासिन्दा सबैको सहयोग आवश्यक रहेको बताईएको छ ।

ट्याग्स : , , , , , , , ,
यो लेख शेयर गर्नुहोस