बारा– बारा निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभाका स्वतन्त्र उम्मेदवार शिवनाथ पटेलको लौरो चिन्हको पक्षमा जनशैलाब उभ्रेको छ । पछिल्लो समय लौरोले जनसमर्थन पाउने क्रम बढेको देखिएको छ ।
निर्वाचन क्षेत्रमा जनलहर बटुल्न थालेका पटेलको पक्षमा उठेको चुनावी हावाको तरंगले दलका नेता कार्यकर्तामा हडकम्प नै मचाएको स्थानीयले बताएका छन । थोरै समयमा आम मतदाता माझ लोकप्रियता बढाउदै पटेलले आफ्नो पक्षमा जनमत बटुल्न थालेका छन ।
दलका उम्मेदवारबाट जनचाहना पुरा नहुने भान परेपछि मतदाता स्वतन्त्र उम्मेदवार पटेलको पक्षमा होमिएका हुन । राजधानी काठमाण्डौंमा लौरो छाप लिएर काठमाण्डौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भई राम्रो कामको सुरुवात गरेका बालेन शाहको कार्यशैलीबाट प्रभावित मतदाताहरु लौरोमा मतदान गर्न हौसिएका छन ।
एकाएक लौरो छापबाट उम्मेदवारी दिएका पटेललाई विजयी गराउन अहिले निर्वाचन क्षेत्र नं. ३ (क) मा जनलहर नै चलेको मतदाता नन्दलाल चौधरीले बताए ।‘अहिले सम्म दलका उम्मेदवारलाई देख्यौं,’ उनले भने, ‘अब स्वतन्त्र उम्मेदवारलाई पाले दिने तयारीमा जुटेका छौं ।’ क्रमिक रुपमा स्वतन्त्र उम्मेदवार पटेलको पक्षमा मतदाता खुलेर अगाडी बढ्न थालेको उनले बताए ।
यसपाली यस क्षेत्रका अधिकांश थारु परिवारले पटेलको निर्वाचन चिन्ह लौरो छापमा मोहर लगाउने विश्वास समेत उनले व्यक्त गरे । गाउ टोलमा दलले आफ्ना नेता कार्यकर्तालाई परिचालन गर्न कमिटी बनाउन नसकेको अवस्थामा पटेलले टोल टोलमा कमिटी बनाउन सफल भएको चौधरीले बताए । अहिले पटेको पक्षमा जनलहर थपिदै गएको उनले जानकारी दिए ।
पटेलको पक्षमा चुनावी प्रचार प्रसार गर्न बाराको बडहर्वामा आयोजित एक भेटघाट कार्यक्रममा युवा जमातको ओईरो नै लागेको थियो । भेटघाट कार्यक्रममा करीब साढे ५ सय जति युवाहरु सहभागी भएका थिए । सो अवसरमा एक सय सदस्यीय प्रचार प्रसार समिती समेत निर्वाचन क्षेत्रमा परिचालन गरिएको स्वतन्त्र उम्मेदवार शिवनाथ पटेलले जानकारी दिए ।
घरदैलोको क्रममा मतदाताले आशिर्वाद दिदै विजयीको अग्रीम शुभकामना दिने थालेको उनले बताए । ‘मतदाताले दिएको वचनबाट चुनाव जित्ने हौसला आफुमा थपिएको छ,’ उनले भने, ‘मतदाताले आफुलाई यति मन पराउछन भने विश्वास नै लागेको थिएन् ।’ मतदताले बढाएको हौसलाबाट आफु चुनाव जित्नेमा विश्वस्त रहेको उनले बताए ।
लौरो छापको झण्डा, ब्यानर बोकेर युवाहरु स्वस्फुर्त रुपमा चुनावी प्रचार प्रसारमा जुटेको र यसले आफुमा थप हौसला बढाएको उनले जानकारी दिए । भेटघाटको क्रममा सिमरी, फत्तेपुर, बडहर्वा, लामीडाडा, पिलुवा, उत्तरझिटकैया, बेलवाडीह, श्रीपुर, विद्यानगर, मझौलिया लगायत स्थानबाट नेताकार्यकता सहभागी भएका थिए ।
पटेलको पक्षमा बढदै गरेको जनलहर देखेर आममतदातामा खैलाबैला मच्चिएको छ । विपक्षी उम्मेदवारलाई यसले निराशा तर्फ धकेलेको कलैया उपमहानगरपालिका १६ का मतदाता धर्मेन्द्र साहले बताए ।
घरदैलो अभियानको क्रममा पाएको सल्लाह सुझाव अनुसार अगाडी बढीरहेका स्वतन्त्र उम्मेदवार पटेलको जित सुनिश्चित बन्दै गएको स्थानीयले बताएका छन । हिन्दुहरुको महान पर्व छठ पुजा सकिए लगर्तै सबै उम्मेदवारले घरदैलो अभियान र चुनावी प्रचारप्रसारलाई तिब्र बनाएका छन ।