पवन यादव
डुमरिया(रौतहट)– हिन्दु र मुस्लिम समुदायको धर्म संस्कृती एकदमै फरक छ । दुबै समुदायका मानिसहरुबीच बेलाबेलामा धार्मिक विषयमै विवाद, झै–झगडा, मारपीट, झडप हुने गर्छ । रौतहट जिल्लामै विगतमा धेरै पटक धार्मिक विषयमै झडप भएको उदारहरण थुप्रै छन ।
धार्मिक विषयमा दुबै समुदायका मानिसबीच वर्ग मिल्दैन । तर पनि मुस्लिम समुदायकी एक महिलाले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरियाका एक सय जना दलित विपन्न परिवारका व्रतालु, जेष्ठ नागरिक, एकल महिलालाई छठ पर्व मान्न एक÷एक थान साडी वीतरण गरेकी छिन ।
दलित, विपन्न महिलालाई छठ पर्व मान्न रौतहट गौर नगरपालिका वडा नम्बर ८ पुरेनवा निवासी अम्बेया खातुनले यसरी उनीहरुलाई साडी वितरण गरेकी हुन । विगत २० वर्ष देखी महिला अधिकारकर्मीको रुपमा रौतहटमा क्रियाशील रहेकी खतुनले जाडोको बेलामा दलित विपन्नलाई न्यानो कपडा समेत वीतरण गरेकी थिईन ।
खातुनले वीतरण गरेको साडीले छठ पर्व मान्न आफुलाई धेरै सहज भएको रौतहट चन्द्रपुर नगरपालिका ९ डुमरियाकी २८ वर्षिया संगिता देवी माझीले बताईन । ‘छठ व्रत मान्न आफुसंग नयाँ साडी थिएन,’ उनले भनिन, ‘अब यो नयाँ साडी लगाएर छठ व्रत मान्छु ।’ साडी पाएपछि आफुलाई धेरै सहज भएको उनले बताईन ।
उनी मात्र होईन । टोलकै ४५ वर्षिया सुखली देवी माझीले पनि नयाँ साडी पाएर धेरै खुशी भएको बताईन । ‘हामी दलित, विपन्नलाई कसैले साडी दिएको थिएन,’ उनले भनिन, ‘हिन्दुले त दिदै दिएन, मुस्लिम भएपनि अम्बेयाले साडी त दिनु भयो ।’ हिन्दु महिलालाई साडी दिएर खातुनले दुबै समुदायबीच रहेको धार्मिक खाडललाई पुर्ने प्रयास गरेको उनले बताईन ।
यसले धार्मिक सहिष्णुता कायम राख्न मद्दत पुगेको उनले विश्वास व्यक्त गरिन । धार्मिक विभेदलाई अन्त्य गर्न यसले मद्दत पुग्ने उनको भनाई छ ।
अर्थिक अवस्था निकै कमजोर रहेका यहाका दलित, विपन्नको लागी यसपालीको पर्व धेरै महँगो सावित भएको डुमरिया माझी वस्तीकै ६८ वर्षिया लोदरी देवी माझीले बताईन । आफुले पनि चाडको बेलामा नयाँ साडी पाएको उनले बताईन ।
हिन्दु समुदायका कोही नेताले नदेखेको हामी गरीबको पीडामा मुस्लिम महिलाले मल्हम लगाउने काम गरेको उनले भनिन । ‘खातुनले सराहनिय काम गरेकी छिन,’ उनले भनिन, ‘साडी दिएर खातुन हाम्रो पर्वमा सहभागी बनेकी छिन ।’ विपन्नलाई सहयोग गर्ने खातुनलाई साडी पाएकी महिलाहरुले धन्यवाद समेत दिएको उनले बताईन ।
दलित, विपन्नलाई कसैले वास्ता नगरेपछि आफुले सानो सहयोग गरेको महिला अधिकारकर्मी अम्बेया खातुनले बताईन । कोरोनाको कहरपछि थपिएको आर्थिकमन्दीले थल्ला परेको दलित, विपन्नलाई सहयोग गर्न अभिप्रेरित गर्ने उदेश्यले आफुले यसरी साडी वीतरण गरेको उनले जानकारी दिईन ।
माझी बस्तीमा बसोवास गरीरहेका ५० परिवारका एक सय महिलालाई साडी वीतरण गरिएको उनले बताईन । ‘साडी पाएका प्रायः सबै महिला, वृद्धा धरै खुशी देखिन्थे,’ उनले भनिन, ‘उनीहरुकै खुशीमा आफ्नो खुशी खोज्न आफु साडी लिएर वस्ती पुगेकी हुँ ।’ आफुले यसरी नै सहयोगलाई निरन्तरता दिदै जाने उनले आश्वासन समेत दिएकी छिन ।
साडी वीतरण कार्यक्रममा उनीसंगै चन्द्रपुर ९ डुमरियाकी समाजसेवी सलिना खातुन पनि माझी बस्ती पुगेकी थिईन । वीपन्नलाई साडी वीतरण गर्दाको क्षणलाई स्मरण गर्दै उनले हातमुख जोर्न धौं धौं पर्ने दलित विपन्नलाई यसले धेरै राहत पुर्याएको बताईन । दलित, विपन्नलाई चाडवाडको बेला सरकारले नै साडी, पुजा सामाग्री खरीद गर्न सहयोग पुर्याउनु पर्नेमा जोड दिईन ।