पवन यादव
बारा– करीब दुई साता देखी बारामा भौतारीरहेको जंगली हातीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्र बाख्रा सहित घास काट्न पसेकी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज बस्ने ५१ वर्षिय रुवैदा खातुनलाई जंगली भाले हातीले बिहिवार अपरान्ह आक्रमण गरेको थियो ।
हतीको आक्रमणमा परी गम्भिर घाईते भएकी रुवैदालाई स्थानीय वासिन्दा, प्रहरी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सहयोगमा सिमरा स्थित अल्पाईन अस्पताल पुर्याईएको थियो ।
उपचारकै क्रममा अस्पतालमा घाईते रुवैदाको साझ करीब साढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घटनाबारे सूचना पाउने बितिकै घाईते महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल सहितको टोली अस्पताल पुगेको थियो ।
पौडेल सहितको टोली अस्पताल बसीरहेकै बेला रुवैदाको मृत्यु भएको चिकित्सकले प्रमाणित गरेपछि केही बेर अस्पताल परिसरमै परिवारका सदस्यहरुमा रुवावासी चलेको थियो ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम सहितको टोली पनि घाईतेको अवस्था बुझ्न अस्पताल पुगेको थियो । अमलेखगंज स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो पछाडीको निकुञ्ज भित्र रुवैदा बाख्रा चराउन जादा जंगली हातीको आक्रमणमा परेको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गढी न्यूजलाई जानकारी दिए ।
‘जंगली हाती निरन्तर राजमार्ग तथा निकुञ्ज आसपासको क्षेत्रमा देखा पर्ने गरेको थियो,’ उनले भने, ‘बेलाबेलामा वस्ती समेत छिर्ने गरेको खबर पाएका थियौं ।’ एक साता यता पथलैया, मठिआनी, काटघाट लगायतका स्थानमा जंगली हातीले फुसको घर टहरा, पसल समेत भत्काएको थियो । तर मानसवय क्षति पुर्याएको थिएन ।
जंगलमा हाती आएको छ भनि निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी समेतले सचेत गराउदा पनि स्थानीय जंगल छिर्न नछाडेको सुरक्षाधिकारीहरुको भनाई छ । निकुञ्ज अधिकारीहरुको अनुरोधलाई बेवास्ता गर्दै दाउरा लिन, घास काट्न अटेरी गरी जंगलमा पस्ने क्रम सर्वसाधारण हातीको आक्रमणमा पर्ने गरेको निकुञ्ज अधिकारीहरुको भनाई छ ।
आरक्षको पोथी हात्ती राप्तीकलीसग प्रेममा परेर बिगत दुई साता देखि उक्त भाले हाती अमलेखगंज स्थित हातीसारमा आएर दुख दिदै आएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
वर्षेणी वन्यजन्तु आहार विहार गर्ने वन क्षेत्र मासिने क्रम बढदै गएको र निकुञ्ज तथा वन क्षेत्र नजिकै बसेका बस्तीबाट जंगल अवाक्षित गतिविधी गर्ने क्रम बढेपछि पछिल्लो समय मानव र वन्यजन्तुहरुबीच द्वन्द बढदै गएको संरक्षणकर्मीहरुको भनाई छ ।
एक सय वर्ष भन्दा बढी आयु भएका जंगली हातीको स्मरण शक्ती पनि मजबुत हुन्छ । जंगली हातीहरु ओहोर दाहोर गर्ने रुटमा वन फाडेर बस्ती बसेपछि फलस्वरुप वन्यजन्तुहरु प्रतिकार गर्दै आएको संरक्षणकर्मीको भनाई छ ।