बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित त्रिवेणी स्पिनिङ मिल्स प्रालिमा प्रहरी र मजदुरबीच भएको झडपको विवाद साम्य पार्न शुक्रवार जिल्ला प्रशासन कार्यालय बारामा छलफल भएको छ ।
विवादलाई साम्य पार्न र प्रहरी हिरासतमा परेका मजदुरहरुलाई थुनामुक्त गराउन सहज वातावरण बनाउन मजदुर नेता र सुरक्षाधिकारीहरुबीच सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय बारामा शुक्रवार भएको छलफलमा आईतवार सम्म प्रहरी हिरासतमा परेका मजदुरहरुलाई हिरासत मुक्त गर्ने वातावरण बनाउन सहमति भएको मजदुर नेता मिन प्रसाद आपागाईले बताए ।
‘छलफलमा दुबै पक्षबाट उठेका आरोप प्रत्यारोपलाई मथर गर्दै विवाद साम्य पार्ने सहमति भयो,’ उनले भने, ‘विवादलाई चर्किनबाट रोक्नमा छलफल केन्द्रित रहयो ।’ कानुनी प्रक्रिया पुरा गरेर आईतवार सम्ममा पक्राउ परेका मजदुरलाई रिहा गराउन आश्वासन बाराका प्रमुख जिल्ला अधिकारीले दिनु भएको उनले बताए ।
बोनस तथा दसैं तिहार खर्चको विषयमा आन्दोलित त्रिवेणी स्पिनिङ मिल्सका मजदुर र प्रहरीबीच बिहिवार अपरान्ह उद्योग परिसरमै झडप भएको थियो ।
झडपको क्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक सहित १५ जना घाइते भएका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर र ३४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
प्रहरी र मजदुर बीचको झडपमा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना सहित १० जना प्रहरी र १५ जना मजदुर घाईते भएका थिए । घाइतेहरुको सिमरा र वीरगंज स्थित अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।
सोही झडपको क्रममा उद्योग प्रशासनसंग वार्तामा बसेका मजदुरहरु मध्ये ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्योगले दशैं तिहारको बोनस उपलब्ध नगराएको भन्दै मजदुरहरुले बुधबार देखि नै उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए ।
उद्योग प्रशासन र मजदुर बीच वार्ता चलिरहँदा मजदुरहरुले तोडफोडमा उत्रिएपछी झडपको स्थिति आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
कम्पनीले दशै तिहारको बोनस नदिएको भन्दै उनीहरुले केही दिन देखि जिएमको अफिसमा तालाबन्दी गरेका थिए । कामदारहरु तालाबन्दी गरि धर्नामा बसेका थिए ।
जिएमको अफिसको ताल्चा खोली विवादलाई साम्य पार्न बुधवार राती बैठक बसेको थियो । बैठक विना निष्कर्ष बुधवार राती अढाई बजे टुङ्गिएको थियो । बैठक विना निष्कर्ष टुङ्गिए पछि कामदारहरु शान्तिपूर्वक धर्नामा बसिरहेका थिए ।
त्यसपछि बाराका प्रहरी उपरिक्षक होविन्द्र बहादुर बोगटी सहितको उपस्थितिमा विहिवार दिउसो २ बजे देखि फेरि बैठक बसेको थियो । दिउँसो साढे ३ बजे वार्ता नमिलेको कारण झडप भएको प्रहरी अधिकारीको भनाई छ ।
झडपमा परी प्रहरी नायब उपरिक्षक युबराज तिमिल्सिना, प्रहरी निरीक्षक राज किशोर साह तेली, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल, सहायक प्रहरी हवल्दार दिपक गुरुङ, प्रहरी जवान राजेश पुन मगर, सदाम हुसेन, रुदल कुमार यादब, रुबोध कुमार यादब, सुरेन्द्र महतो घाइते भएका छन ।
झडपमा संलग्न रहेका मजदुरहरु पर्सा बिरगंज महानगरपालिका वडा नम्बर ३२ चोर्नीका २५ वर्षीय संजय कुमार यादब, वडा नम्बर २८ का २२ वर्षीय ओमप्रकाश मिश्र, पर्सागढी गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय मनोज यादव, जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नम्बर १६ का २५ वर्षीय राजेश यादव, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० का २५ वर्षीय अकलेश पाण्डे, प्रसौनी गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय व्रजकिशोर साह, कलैया उपमहानगरपालिका वडा नम्बर १२ का २६ वर्षीय सोनालाल साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
झडपको क्रममा भएको गल्ती स्वीकार्दै मजदुर नेताहरुले माफी मागेपछि पक्राउ परेकाहरुलाई चाड मनाउनका लागी छोडने वातावरण बनाउन सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।