कोल्हवीमा महिला जनप्रतिनिधीलाई प्रारम्भिक प्रशिक्षण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 895
2 मि. पढ्न लाग्ने समय

बारा– स्थानिय सरकारमा दरिलो प्रतिनिधित्व गराउन कोल्हवी नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधीहरुलाई चार दिने प्रारम्भिक प्रशिक्षण दिईएको छ ।

स्थानीय तहमा निर्वाचित भई महिला सदस्यको भुमिका निर्वाह गरीरहेकी महिला जनप्रतिनिधीहरुलाई चार दिने तेश्रो मोडुल नामक प्रारम्भिक प्रशिक्षण दिईएको हो ।

स्थानीय सरकारमा महिलाको तर्फबाट प्रभावकारी ढंगले भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन प्रारम्भिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक माण्डवीले जनाएको छ ।

स्विस सरकार विकास सहयोग, आस्ट्रेलियंन एडको आर्थिक सहयोग तथा आई एफ ई एस नेपालको प्राविधिक सहायोगमा अयोजित कार्यक्रममा निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको थियो ।

बाराको कोल्हबी नगरपालिकाको ११ वटा वडामा निर्वाचित दलित, विपन्न र पछाडी पारिएका महिला सदस्यहरुमा राजनैतिक तथा नेतृत्वदायी भुमिका निर्वाह गर्न उर्जा थप्न प्रशिक्षण दिईएको आयोजक माण्डवी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले जानकारी दिए ।

तामागढी ईभेन्ट भेन्यु प्रालि कोल्हवीमा आयोजित चारदिने परिक्षणको शुक्रवार समापन भएको साहले जानकारी दिए । आयोजक संस्थाका कार्यक्रम संयोजक मुनिलाल बैठाले प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुलाई सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिए ।

प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाहरुलाई समुह कार्य, बैठक, योजना ब्यबस्थापन, बिधायकी प्रणाली, सक्रिय सुनाई, सञ्जालीकरण, संचार माध्यमसँगको सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तीगत बिकासका लक्ष्यहरु लगायत विषयमा तालिम दिईएको थियो ।

तालिमका सहभागीहरुलाई प्रशिक्षक अरबिन्द चौधरी र निभा सिंहले ९ वटा सेक्टरमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए । राजनैतिक संबांदमा भाग लिन र वडा स्तरका जिम्मेवारीहरु निर्वाह गर्नको लागि यो तालिम एकदमै प्रभावकारी सावित हुने समापन सत्रलाई सम्बोधन गर्दै कोल्हबी नगरपालिकाका उपमेयर लक्ष्मी कुमारी चौधरीले बताए ।

प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिला जनप्रतिनिधीले स्थानीय सरकारमा कुशल भुमिका निर्वाह गर्ने विश्वास लिईएको आयोजक संस्थाले जनाएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस