वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

वर्षाको पानीको कारण बारामा घर भत्किने क्रम अझै रोकिएन दर्जनौं घर तथा सरकारी कार्यालय डुबानमा

बारा–विगत केही दिन देखि परेको अविरल वर्षाका कारण जमेको पानीले सल्किएर बारामा घर भत्किने क्रम अझै रोकिएको छैन । मंगलवार विहान मात्र सिम्रौनगढ नगरपालिकामा एक घर भत्किएको छ ।

सिम्रौनगढ नगरपालिका ५ सानो ईटवाल निवासी अयुब अंसारीको कच्ची घर वर्षाको पानीले सल्किएर भत्केको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

खपडाको छानो र बासको भित्ताले बनेको घर भत्कएर करीब एक लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।

घर भत्किएर मानविय क्षति नभएपनि अन्सारी परिवारको विचल्ली भएको छ । परिवारका ६ जना सदस्य अरुको घरमा आश्रय लिन बाध्य भएका छन ।

यस अघि पनि बाराको विभिन्न पालिकामा गरी ११ वटा घर भत्किएर लाखौंको नोक्सान भएको प्रहरीले जनाएको छ । पानीको भेल आएर ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र ईलाका प्रहरी कार्यालय निजगढको कम्पाउण्डवाल भत्किएको डिएसपी मिश्रले जानकारी दिए । यसैगरी डुबानको कारण प्रहरी चौकी बसतपुरमा समेत क्षति पुगेको उनले बताए ।

वर्षाको पानी चारैतिर स्थिर भएपछि प्रहरी चौकी मटिअर्वाको कार्यालय प्रवेश गर्ने सडक समेत डुबानमा परेर प्रहरी कर्मचारी तथा सेवाग्राहीलाई आवतजावतमा समस्या उत्पन्न भएको उनले बताए ।

वर्षाको पानी घरभित्र पसेपछि बारामा दर्जनौं घर डुबानमा परेका छन । घर डुबानमा परेर पीडित परिवार समस्या झेलिरहेका छन ।

अहिले पनि वर्षाको पानी घरबाट निकाल्न नसकिएको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाकी पीडित मान्ती गिरीले बताईन ।

पक्की घर डुबानमा परेपछि उनी परिवार सहित आफन्तको घरमा आश्रय लिन बाध्य हुने परेको बताईन । वर्षाको पानीले उत्तरझिटकैयाकै भट्टराई भनिने हरेन्द्र पटेलको फुसको घर वर्षाको पानी पसेर हिलाम्य बनेको छ ।

पानीले सल्किएर घर भत्किने अवस्थामा आईसकेको उनले जानकारी दिए । अहिले घरमा बस्न, खान र सुत्न समस्या भएको उनले बताए ।

उनीहरु जस्तै स्थानीय भुनेश्वर कुशवाहा, राधेशंकर पटेल, चन्दन सहनी, रघुनाथ पटेल सहित आधा दर्जन बढी परिवार बस्ने घर डुबानमा परेको स्थानीयले बताएका छन ।

डुबानबाट घर भित्र राखिएको खाद्यान सहितका मालसामान भिजेर बिग्रेको पिडितहरुले बताएका छन ।

सर्वसाधारणको मात्र नभई वर्षाको पानीले सरकारी कार्यालय रहेको भवन तथा वरीपरीको सडक समेत डुबानमा परेको प्रहरीले जनाएको छ ।