कलैयामा ७५ वर्ष देखी ‘पशुपतिले सबैको सेवा गर्दै’

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
3 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– बारा सदरमुकाम कलैया स्थित पशुपति पुस्तकालयले ७५ वर्ष देखी निरन्तर कलैयावासी पाठकको सेवा गर्दै आएको छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकाको पहुच भन्दा बाहिर रहेका विद्यार्थी, बुद्धीजिवी लगायतलाई पुस्तकालयले सेवा दिदै आएको हो ।

थोरै संख्यामा पत्र पत्रिका रहेको बेला देखी पुस्तकालयले पाठकलाई सहज रुपले पत्रिका पढने वातावरण बनाईदिएको कलैयाका वयोवृद्ध पाठक शिवनाथ शर्माले बताए ।

‘पशुपति पुस्तकालयले धेरैलाई पत्रिका पढने बानी बसायो,’ उनले भने, ‘त्यो बेला सबैले पत्रिका किनेर पढ्न पाउदैनथे ।’ पत्रका पढ्नको लागी पुस्तकालय नै पुग्नु पर्ने वाध्यता थियो । अहिले त पत्रत्रिका किनेर पढ्न सहज भएको र देश दुनियाको खबर एकै छिनमा अनलाईन, रेडियो, टेलिभिजन र सामाजिक संजाल मार्फत पाउन सकिने भएकोले सर्वसाधारणको पुस्तकालय प्रतिको आकर्षण घटदै गएको उनले बताए ।

तर पुराना लेखकहरुले रचना गरेको सामाग्रीहरु पढ्न पुस्तकालय नै उपयुक्त हुने र पुस्तकालयमा ती सामाग्रहरु सहज रुपले पाउने गरेको उनले जानकारी दिए ।

बि.स. २००४ सालमा स्थापित पशुपति पुस्तकालयले जिल्लामै महत्वपुर्ण योगदान पुर्याएको चर्चा कलैयाका पत्रिकाका परखीहरुले बताएका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित पशुपति पुस्तकालय २ कट्ठा जग्गामा साँघुरिएको छ ।

हुलाकी सडक आयोजनाले सडक फराकिलो बनाउन केही जग्गा अधिग्रहण गरेपछि पुस्तकालयको कम्पाउण्ड साँघुरो बनेको पशुपति पुस्तकालयका संरक्षक पवन अग्रवालले बताए ।

पुस्तकालयको भवनबाट मासिक ३५ हजार रुपैया भन्दा बढीको आम्दानी हुने गरेको पुस्तकालयका कोषाध्यक्ष समेत रहेका अग्रवालले जानकारी दिए ।

संस्थामा हाल ५१ जना आजिवन सदस्य र ११ जना कार्यसमिती रहेको संस्थाका अध्यक्ष राजा दासले जानकारी दिए । आगामी ५ बर्षमा पुस्तकालयलाई पुर्ननिर्माण गरी थप व्यवस्थित बनाउने उनले जानकारी दिए ।

पुस्तकालयलाई आत्म निर्भर बनाउदै पुस्तकालयमा ई लाईब्रेरी बनाउने, ईन्टरनेट तथा वाईफाईको ब्यवस्था गर्ने र कलैया स्थित सबै कार्यालय,संघ संस्थालाई सदस्यताको परिधी भित्र ल्याउने कार्य योजना अगाडी बढाईएको उनले जानकारी दिए ।

कलैयामा शनिवार आयोजित पशुपति पुस्तकालयको बार्षिक साधारणसभामा अध्यक्ष दासले पुस्तकालयको स्तरोन्तीको योजना सार्वजनिक गरेका हुन ।

पुस्तकालयका अध्यक्ष दासको अध्यक्षता एवम बारा उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका योजना अधिकृत हाजी मुस्ताक अन्सारी, नेपाल भारत मैत्री संघ बाराका अध्यक्ष हिरालाल साह, पुर्व अध्यक्ष महम्द अफरोज, कलैया उपमहानगर वडा नम्बर १ का वडा सदस्य शशी दास, कलैया उपमहानगरपालिका वडा नम्बर २३ का पुर्व अध्यक्ष बिक्रम साह, गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादव, ज्येष्ठ नागरिक समाज बाराका अध्यक्ष भरत बहादुर मल्ल, सचेत नागरिक समाज बाराका अध्यक्ष जय मङ्गल ठाकुर, कलैया सिटि जेसिजका अध्यक्ष सन्दिप बरै, पुर्व अध्यक्ष धनिलाल सरार्फ लगायतको सहभागिता रहेको थियो ।

पुस्तकालयका उपाध्यक्ष रामबाबु कुशवाहाले स्वागत गरेको कार्यक्रमलाई सचिव किशोरी रामले गरेको पुस्तकालयका कोषाध्यक्ष पवन अग्रवालले जानकारी दिए ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस