प्रहरी कार्यालय अगाडी नै घरेलु मदिरा विक्री

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
5 मि. पढ्न लाग्ने समय

बारा– प्रहरीसंग मदिरा खाएको मान्छे लुकेर हिड्छ । तर बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वामा सशस्त्र प्रहरी कार्यालय अगाडी नै मदिरा पसल संचालनमा आएको छ ।

आफ्नै कार्यालय अगाडीको पसलमा घरेलु मदिरा बिक्री वितरण भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको छ । भारतिय ग्राहकले भरिभराउ रहने ती मदिरा पसलेले निर्धक्क रुपमा बसेको स्थानीयले गुनासो गरेका छ ।

मटिअर्वामा मात्र होईन । सदरमुकाम कलैया लगायत जिल्लाभरी नै यसरी नै घरेलु मदिरा निर्वाध रुपमा बिक्री वितरण भईरहेको स्थानीयले जानकारी दिए ।

गाउँघरबाट घरेलु मदिरा सहज रुपले बाराको सदरमुकाम कलैयाका होटलहरुमा साइकल, मोटरसाइकल, अटोरिक्सा, र बसमा हाली पुर्याईएपछि यसको बिक्री वितरण सहज भएको हो ।

विशेष गरि बाराको गंजभवानीपुर, गडहल, बच्छनपूर्वा, कोल्हवी, बोधबन, टांगिया बस्ती, लामीडाडा, डुमरवाना, पिलुवा, पथलैया, रतनपुर लगायतका ठाउँहरुबाट घरेलु मदिरा उत्पादन गरि सदरमुकाम लगायत बाराको हरेक क्षेत्रमा पुर्याउने गरिएको छ ।

घर आँगनमै आईपुगेको घरेलु मदिरा सहज रुपले थौरै पैसामा खरीद गर्न पाउने भएकोले सर्वसाधारणको यस प्रति आकर्षण देखिएको छ । मदिरा सेवन गरेकै कारण मानिसहरु विभिन्न रोगले ग्रसित हुने गरेको पीडित परिवारले गुनासो गरेका छन ।

घरेलु मदिरा बिक्री वितरणलाई प्रहरी प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानीयले गुनासो गरेका छन ।

सदरमुकाम कलैयाका विशेषत हरेक होटेल देखि ठेलामा समेत घरेलु मदिरा निर्वाध रुपमा विक्री वितरण हुदै आएको छ । तर पनि प्रहरी प्रशासन यस बारे अनभिज्ञता जाहेर गरेको छ ।

बाराको कलैया, मटिअर्वा, प्रसौनी, डुमरवाना, जितपुर, सिमरा, पथलैया, अमलेखगंज, निजगढ, कोल्हवी, गडहल, सिम्रौनगढ, बरियारपुर, गंजभवानीपुर लगायत बजार, टोल तथा गल्लीहरुमा समेत घरेलु मदिरा उत्पादन तथा विक्री वितरण बढदै गएको स्थानीयले बताएका छन् ।

जिल्लामा अहिले पनि घरेलु मदिराको उत्पादन तथा विक्री वितरण नियन्त्रण हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।

घरेलु मदिराकै कारण कतिपय परिवार पलायन भए, कतिपयले आफनो ज्यान गुमाए र कतिपय भिख माग्ने अवस्थामा पुगेको भए पनि यसलाई सम्बन्धित निकायले नियन्त्रण गर्न नसकेको स्थानीयको भनाई छ ।

गाउँ त गाउँ सदरमुकाममा समेत होटेल, सेकुवा पसल, ठेलामा समेत घरेलु मदिरा विक्री वितरण हुँदै आएको कलैयाका मनोज साहले जानकारी दिए ।

उनका अनुसार, हरेक दिन साँझ कलैयाको मुख्य चौक भरतचौकमा ठेलामा समेत घरेलु मदिरा विक्री वितरण हुने गर्दछ । खुलेयाम रुपमा भरतचौकमा घरेलु मदिरा विक्री वितरण भए पनि प्रहरीहरु त्यही रमिते भएर बस्छन् । कारवाहीको नाममा ‘समय भयो अब तिमीहरु पसल बन्द गरेर घर जाउ’ भन्दा बढी केही गर्न सकेको अवस्था छैन् ।

कलैयामा मात्र होइन गाउँ गाउँका हरेक चौक चौराहामा विहान ४ बजे देखि राती १० बजेसम्म घरेलु मदिरा निर्वाध रुपमा विक्री वितरण हुँदै आएको बारागढी गाउँपालिकाका रामअवतार रामले जानकारी दिए ।

उनले वडामा २४ औ घण्टा घरेलु मदिरा निर्माण र विक्री वितरण हुँदैआएपनि पटक पटक जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराउँदा पनि यसको नियन्त्रणका लागि कुनै कदम नचालिएको जानकारी गराए ।

हामी जस्ता गरीब मानिसहरुलाई यो मदिराले झन दुःख दिएको छ, उनले भने, ‘गाउँका युवाहरु जाड रक्सीको कुलतमा लागेर बर्बाद भइरहेका छन् । दिनहँु जाडरक्सीको कारण झै झगडा र घरेलु हिंसा बढदो क्रममा छ तर यसको नियन्त्रणको लागि कुनै ठोस कदम चालिएको छैन’, रामले भने ।’

घरेलु मदिरा हाम्रो लागि विष हो । सबैलाई थाहा भएको कुरा हो तर पनि जानी जानी मानिसहरु कुलतमा लागेर यसको सेवन गर्दै आएका छन । लतको कारण जानी जानी विष पिउनु त आफैले आफैलाई धोखा दिनु हो । जानी जानी आफनो ज्यान आफै लिनु हो । तर पनि यहाँका मानिसहरु त्यही रक्सी प्रयोग गर्दै आएका छन ।

‘घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण कार्यलाई रोक्ने दायित्व राज्यको हो,’ बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले भने, ‘राज्यको दायित्व पुरा गर्ने प्रहरी प्रशासनले कडाई नगर्दा घरेलु मदिरा उत्पादन तथा विक्री वितरण बढदै गएको हो । प्रहरीले मदिरा भठ्ठी र मदिरा नष्ट मात्र गर्ने गर्छन । तर भठ्ठी संचालकहरुलाई अहिलेसम्म समाउन सकेको अवस्था छैन । जसको कारण मदिरा उत्पादन तथा विक्री वितरण गर्नेहरुको मनोबल बढेको उनले जानकारी दिए ।

मदिरा उत्पादन र विक्री वितरण गर्नेहरुलाई पक्राउ गरी कानुनी कठघेरामा उभ्याउन सक्नु पर्दछ । मदिरा भठ्ठी र मदिरा नष्ट गरेर समस्या समाधान हुँदैन अध्यक्ष दासले बताए ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस