बारामा ९ लाख नेपाली नक्कली नोट सहित तीन पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 997
2 मि. पढ्न लाग्ने समय

बारा– ९ लाख रुपैयाँ नेपाली नक्कली नोट सहित बारा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुलाई नक्कली नोट सहित सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण ग्रामपोष्ट पिपराकोठ्ठी बस्ने २५ वर्षिय रंजित कुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षिय सैनुल्लाह अंसारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षिय बिनाका मुखिया बिन रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ कनकपुरबाट शुक्रवार साझ भारतिय नागरिक रंजितलाई नक्कली नोट सहित पक्राउ गरेको थियो ।

नक्कली नोट बोकेर भारतबाट नेपाल भित्रिएको अवस्थामा प्रहरी टोलीले रंजित सवार रहेको भारतिय नम्बर प्लेटको एसपी साईन मोटरसाईकल रोकी चेकजाच गर्ने क्रममा नेपाली नक्कली नोट बरामद गरेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

रंजितको शरीर खानतलाशी गर्दा कम्मर मुनी लुकाई राखेको अवस्थामा एक लाख र मोटरसाईकलको डिक्कीबाट ८ लाख रुपैयाँ गरी ९ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरिएको उनले जानकारी दिए ।

‘नक्कली नोट बरामद भएपछि रंजितलाई नोट र मोटरसाईकल सहित नियन्त्रणमा लिएका थियौं,’ प्रहरी उपरिक्षक बोगटीले भने, ‘नियन्त्रणमा रहेका रंजितसंग सोधपुछ गर्दा बाकी दुई जनाले उक्त नोट मंगाएको रहस्य खुलेको थियो ।’ त्यसपछि अन्सारी र बिनलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

भारतमै महंगो प्रिन्टरले प्रिन्ट गरिएको एक हजार थानको उक्त नक्कली नोट आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन र चाडवाडलाई लक्षित गरी नेपाल भित्रियाईएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रउ बोगटीले जानकारी दिए । लामो समयको अनुसन्धान र प्रयास पछि नक्कली नोट सहित कारोवारीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

नक्कली नोट कारोवारीहरुले ५ लाख रुपैयाँ सक्कली नोट दिएर १७ लाख रुपैयाँ नक्कली नोट साट्ने गरेको अनुसन्धानबाट खुलेको प्रउ बोगटीले जानकारी दिए । यस अघि पनि प्रहरीले सिम्रौनगढ नगरपालिकाबाटै नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको थियो ।

यो लेख शेयर गर्नुहोस