काठमाण्डौं– बाढीपहिरोले देशको पहाडी जिल्ला र पश्चिम तराईमा वितण्डा मचाएको छ । बढी पहिरोमा परेर अहिले सम्म देशभरमै ५ जनाले ज्यान गुमाएका छन । वर्षाको पानीले तराईका विभिन्न ठाउँ जलमग्न छन् भने हिमाली क्षेत्रमा हिमपात भएको जनाईएको छ ।
वर्षासंगै गएको पहिरोमा पुरिएर काठमाडौंमा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन भने लमजुङ र पाल्पामा पनि दुई जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ देउराली नजिकै बिहीबार रातिको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रे धुलिखेल–१२ का ५१ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा र छोरी डेढ वर्षीया सारथी रहेका छन ।
चन्द्रागिरि–२ देउराली नजिकै मसिनी जाने बाटोमा वर्षाका कारण पहिरो खस्दा रेकी ध्यान केन्द्रमा सुतिरहेका उनीहरूको मृत्यु भएको चन्द्रागिरि–२ का वडाध्यक्ष भाइकृष्ण तामाङले बताए । केही समयदेखि बिरामी भएकाले उनीहरू ध्यान केन्द्रमा उपचारका लागि बस्दै आएका थिए ।
उता, लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा रहेको पर्यटकीय क्षेत्र मेमेपोखरी घुम्न गएका एक युवकको मृत्यु भएको छ ।
सर्लाही लालबन्दी नगरपालिका–१२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जनको मृत्यु भएको हो । उनीसँगै यात्रामा रहेकी लमजुङ बेंसीसहर नगरपालिका–१० माइत भएकी शर्मिला तामाङ सम्पर्कविहीन छन ।
शुक्रबार बराहपोखरीबाट २ घण्टा माथि गएर खोजी गरे पनि नभेटेको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार खोजी कार्यमा दोर्दी–८ टापगाउँका ५ युवा पनि जुटेका छन । लेकमा भीषण वर्षा भएपछि खोज्न नसकी उनीहरू बराहपोखरी फर्केका छन । शुक्रबार नेपाली सेनाको उदिपुरस्थित चण्डीप्रसाद गणबाट ५ सैनिक उद्धारका लागि गएको उनले बताए ।
पाल्पामा खोलाले बगाएर बालिकाको ज्यान गएको छ । खोलाले बगाएर दुई र पहिरोमा पुरिएर दुई जना घाइते छन । रिब्दीकोटको ठिमुरेस्थित मन्दी खोलाले बगाएर पाँच वर्षकी प्रिन्सु पचभैयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
प्रिन्सुसँगै उनकी आमा ३४ वर्षीया कविता र स्थानीय ३२ वर्षीय मीना रानालाई पनि सँगै खोला तर्ने क्रममा बाढीले बगाएको थियो । उद्धार गरिएका उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गराइएको छ । पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदिसमा पहिरोले घर पुरिँदा २१ वर्षीया विष्णुमाया सारू र डेढ वर्षकी अरुषी खासु घाइते भएका छन् ।
यस्तै, प्यूठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन । माण्डवी गाउँपालिका–४ फरिन्डेमा बमबहादुर राहु मगरको घर शुक्रबार पहिरोमा पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हीराबहादुर थापा, चार वर्षीय सुशान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका हुन् । उद्धारका लागि गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली सडक अवरुद्ध भएका कारण बाटोमै रोकिएको छ ।
पूर्वी नवलपरासीमा भने दुई सयभन्दा बढी घर डुबानमा परेका छन । सयौं हेक्टर धान बालीमा क्षति पुगेको छ । गैंडाकोट नगरपालिका–१ र २ मा ८० घर डुबानमा परेका हुन । विनय त्रिवेणी–१ बगुवनमा पनि शुक्रबार ७५ घर डुबानमा परेका छन । त्रिवेणी जान दाउन्ने सडक भएर पश्चिम नवलपरासीको बर्दघाट हुँदै जानुपर्ने भएकाले उद्धारमा कठिनाइ भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।
नारायणी नदीको पानी बस्ती पसेपछि मध्यबिन्दु नगरपालिका–१० को सेहरी, नन्दपुर क्षेत्रमा पनि २० भन्दा बढी घर डुबानमा परेका छन ।
नारायणी नदी र खहरे खोलामा आएको बाढीको क्षति न्यूनीकरण र डुबान प्रभावितका लागि उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पा जोड्ने सडक पनि अवरुद्ध भएको छ । बुलिङटार गाउँपालिका–६ मा पर्ने फूलमती खोला नजिकै पहिरो खसेको र अन्य स्थानमा पनि साना पहिरो खस्दा बिहीबारदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरीका सूचना अधिकारी सन्तोष पाठकले बताए ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीका अनुसार वालिङ–१३ बायाँटारीमा पहिरोले, गल्याङ–५ पिँडीखोलामा डुबान र भीरकोट–९ मा पहिरोका कारण उच्च जोखिममा परेका १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । यस्तै, वर्षाका कारण म्याग्दीका सबै सडक अवरुद्ध छन ।
पहिरोले बेनी–जोमसोम सडकको जलेश्वर, चमेरे, बैंसरी, बेगखोला, तातोपानी, दाना, काप्रेमा यातायात अवरुद्ध छ । बैसरीमा भीर काटेर बनाएको करिब ५० मिटर लामो सडकमा निरन्तर पहिरो झरेकाले पैदल यात्रु खरबारी, धानखोल र झाडी हुँदै २ घण्टासम्म हिँड्नुपरेको छ ।
‘बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बेनीदेखि घाँसासम्मको सडक पहिरोले छियाछिया भएको छ । हिँड्न पनि समस्या भएको छ,’ बेनी–जोमसोम सडकका नागरिक सुपरभाइजर इन्द्रसिं शेरचनले भने ।
सदरमुकाम बेनीदेखि पश्चिम मालिका गाउँपालिका केन्द्र रहेको दरबाङ हुँदै धवलागिरि गाउँपालिका केन्द्र मुना जोड्ने सडक पनि दर्जनौं स्थानमा पहिरो झर्दा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी–बागलुङ जोड्ने सडक पनि ८ किलोमिटर दक्षिण बेनी–१ रत्नेचौरमा भासिएकाले साना सवारीबाहेक आवागमन बन्द छ ।
पूर्वी नवलपरासीको गण्डक ब्यारेजमा पानीको बहाव उच्च भएको छ । बाँधमा पानीले खतराको सूचक पार गरेपछि नेपाल र भारततर्फका सबै ३६ वटै ढोका बिहीबार खोलिएको गण्डक ब्यारेजका भू–आर्जन अधिकारी अमित खड्काले बताए । मंगलबार देखि परेको वर्षाका कारण नारायणी नदीमा बाढी आएको हो । बुधबार राति ब्यारेजमा २ लाख ५४ हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेकामा शुक्रबार दिउँसो ४ बजे ४ लाख ४० हजार क्युसेक पानी प्रवाह भएको रेकर्ड छ । यो बहाव तीन वर्षयताकै उच्च भएको खड्काले बताए ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राख्न र कुनै पनि समस्या परेमा प्रहरी र गाउँपालिकामा जानकारी गराउन आग्रह गरेका छन ।
बाढीका कारण सरावल, पाल्हीनन्दन र सुस्तामा लगाएको सयौं बिघाको धान खेतीमा क्षति पुगेको छ । बबई नदीमा आएको बाढीले सय बढी घर डुबानमा परेका छन् ।
सदरमुकाम गुलरियाको वालापुर, इन्द्रपुर, मुक्तिनाथघाट, गंगापुर, राधाकृष्ण टोल लगायत बारबर्दिया नगरपालिकाका केही ठाउँ डुबानमा परेको छ । बाढीको कटानले गुलरिया नगरपालिकाको वालापुर, थपुवालगायतका ठाउँ उच्च जोखिममा परेका छन् । सल्यान र दाङमा लगातार पानी परेकाले रातिसम्म सदरमुकामलगायत बबई तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । गुलरिया–११ इन्द्रपुरका किसान सौखत अली गद्दीले यस क्षेत्रमा करिब ५ सय बिघा खेतमा पाकेको धान डुबानमा परेको ।
सहिद मार्गअन्तर्गत होलेरी–नुवागाउँ खण्डमा क्षति पुगेको छ । भांगोबारी नजिकैको सडक क्षेत्रमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सहिद मार्ग आयोजना कार्यालयलाई सडक खुलाउन आग्रह गरिएको बताए । दाङको घोराहीदेखि रोल्पा हुँदै उक्त सडक रुकुमसम्म पुगेको छ । सडकमार्फत दैनिक सयौं यातायातका साधन आवतजावत गर्छन् । सहिद मार्गकै घोराही दुई खोली–होलेरी खण्डमा पनि पहिरो खसेको छ । यस्तै घर्तीगाउँ–दुईखोली–थवाङ खण्डमा पनि पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नदी र खोलामा आएको बाढीले दाङको देउखुरी उपत्यकाका बस्ती डुबानमा परेका छन् । राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरूवा, लट्ठहवा, डोडही, सिसहनियालगायतका गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । लमहीको सतबरिया र राजपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा राप्ती नदीको डुबानमा परेका नागरिकलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको प्रजिअ हीरालाल रेग्मीले बताए ।
वर्षाले बाँकेको जनजीवन पनि प्रभावित भएको छ । राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका ३ सयभन्दा बढी बासिन्दा डुबानमा परेका छन् । प्रजिअ सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाई सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखिएको बताए ।
यस्तै, कर्णालीभर हवाई तथा यातायात सेवा बन्द भएको छ । बुधबार अपराह्नदेखिको वर्षाले कर्णाली, राप्ती, मध्यपहाडीलगायत मुख्य राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा गाडी चल्न सकेनन् भने शुक्रबार नेपालगन्ज र सुर्खेतबाट कुनै पनि जहाजले हिमाली जिल्लामा उडान भरेनन ।
कर्णाली राजमार्गअन्तर्गत दहीखोला, सुनुवारखोला, पादुका, कालेखोला, हुल्म, कर्णाली करिडोरको खुलालु, भैरेकुना, फुगाड, राप्ती राजमार्गको जलेखर्क, फलाटे, कपुरकोटलगायत ठाउँमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो ।
मध्यपहाडी राजमार्गमा पनि झन्डै आधा दर्जन ठाउँमा पहिरो गएपछि दर्जनौं मालवाहक तथा सार्वजनिक सवारीसाधन विभिन्न स्थानमा अलपत्र परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक पनि अवरुद्ध भएको छ । मनाङका प्रजिअ रवीन्द्रप्रसाद आचार्यले वर्षा रोकिनासाथ प्रहरी, स्थानीय तहका साथै सरोकारवालालाई सडक मर्मतमा खटिन अनुरोध गरिएको बताए ।