बारामा नागरिकता बनाउन दबाब दिदा छोराद्वारा आमाको हत्या

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
2 मि. पढ्न लाग्ने समय

बारा– आफनै सौतेनी आमाको धारिलो हतियार प्रहार गरी हत्या गर्ने छोरोलाई शनिवार जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र वोगटीले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आमाको हत्या गरी फरार भएका कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर निवासी २५ वर्षिय जयकिशोर यादवलाई प्रहरीले सार्वजनिक गरेको हो ।

सौतेनी आमा तेतरी देवीको नागरिकता बनाउने विषयमा घरायशी विवादको क्रममा जयकिशोरले धारिलो हतियार खुकुरी प्रहार गरी भदौं ३० गते साझ सवा ६ बजे हत्या गरेका थिए ।

आमा तेतरीले श्रीमान ५५ वर्षिय शिवनारायण यादवसंग नागरिकता बनाउन पटक पटक आग्रह गर्दा पनि उनले कान्छी श्रीमती र छोरा जयकिशोरको दबाबका कारण आलटाल गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।

‘नागरिकता बनाईदिदा तेतरीलाई अंश दिनु पर्ने जयकिशोर समेतको बुझाई थियो,’ प्रहरी उपरिक्षक बोगटीले भने, ‘अंश दिनु नपर्ने मनशायले शौतको छोरा जयकिशोरले क्रुरतापुर्वक हत्या गरेको देखिन्छ ।’ रिसको झोकमा धारिलो हतियार खुकुरी लिएर निस्केका जयकिशोरले घरमा बसीरहेकी सौतेनी आमा तेतरीको घाटीमा प्रहार गरेका थिए । खुकुरीले घाटी छिनिएकी तेतरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

सूचना पाएलगतै घटनास्थलमा आफु सहितको प्रहरी टोली पुगेको र त्यहकाट मृतकको शव नजिकैबाट हत्यामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरिएको उनले बताए ।

घटना संलग्न भएको आशंकामा मृतकका पति शिवनारायणलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानको क्रममा हत्यामा संलग्न मुख्य अभियुक्त जयकिशोर रहेको खुलेपछि उनको खोजतशास सुरु गरिएको थियो ।

फरार अभियुक्त जयकिशोरलाई पर्साको बीरगंज महानगरपालिका ईनर्वामा लुकीछिपी बसेको अवस्थामा नियन्त्रण लिईएको प्रहरी उपरिक्षक वोगटीले जानकारी दिए ।

पक्राउ परेका जयकिशोरलाई अदालतबाट सात दिनको म्याद थप गराई प्रहरी हिरासतमा राखी अनुसनधान सुरु गरिएको उनले जानकारी दिए ।

 

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस