चन्द्रनिगाहपुर– जंगली हातीको समुहले रौतहटको लमहा बस्तीमा प्रवेश गरेर घर भत्काउन थालेपछि ती सुकुम्वासी वस्तीका १२ परिवार विस्थापित भएको छ ।
सोमवार बिहान वस्ती छिरेको दुई वटा जंगली हातीले आतंक मचाएपछि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित लमहाका वासिन्दाहरु विस्थापित भएका हुन ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत जिल्ला वन कार्यालयको लमहा घाटगस्ती स्थित जंगलमै टहरा बनाएर बस्दै आएका विपन्नहरुको हाती आतंकले उठीवास भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
जंगली हातीको समुहले १२ घरपरिवार बसोवास रहेको लमहा वस्तीका ५ वटा घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । सुकुमवासी परिवारलाई ओत लाग्ने घर हातीले तोडफोड गरी क्षतिग्रस्त बनाएपछि पीडित परिवार चन्द्रनिगाहपुर स्थित आफन्तको घरमा शरण लिन वाध्य भएका छन ।
जंगली हातीको समुहले बस्तीका घरमा भौतिक क्षति पुर्याएपनि मानविय क्षति पुर्याउन नसकेको स्थानीयले बताएका छन ।
बस्तीमा हाती प्रवेश गरेको देखेर स्थानी वासिन्दाहरु भागेर आफ्नो ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
हात्तिको समुहले स्थानीय राम पहरी, लक्ष्मण पहरी, फुलमाया मगर, अर्जुन पहरी र धनमाया पहरीको घर भत्काएको स्थानिय सरोज पहरीले जानकारी दिनु भयो ।
हातीको समुहले स्थानीय एक किराना पसलमा समेत क्षति पुर्याएको र किराना सामाग्री नष्ट गरेको पीडित पहरीले जानकारी दिनु भयो ।
चन्द्रनिगाहपुर स्थित आफन्तको घरमा शरण लिएका पीडितहरु हात्ति फेरी पनि बस्तीमा आउने हो कि भन्ने त्रासले अहिले सम्म वस्तीमा नफर्केको स्थानीयले जानकारी दिएका छन । ति दुबै हाती आइतबार साझ नै चन्द्रनिगाहपुर मुख्य चोक हुदै गाउ गाउ पसेको प्रहरीको भनाई छ । करिब ११ बजे राती चन्द्रनिगाहपुरबाट ति हात्ति जंगल छिरेको जनाईएको छ ।