कलैयाको मुख्य चौक नै दुर्गन्धित, सम्बन्धित निकाय मौन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
4 मि. पढ्न लाग्ने समय

बारा, ३२ साउन– कलैया उपमहानगरपालिकाको मुख्य चौक नै दुर्गन्धित छ । बाराको सदरमुकाम समेत रहेको कलैयाको मुख्य चौक नै वर्ष भरि दुर्गन्धित रहने गरेको छ ।

जिल्लाका अधिकाँश गतिविधि हुने ठाउँ नै दुर्गन्धित हुँदा पनि कोही कसैको ध्यान गएको देखिदैन ।

विशेषगरी राजनीतिक तथा लोककल्याणकारी भेला हुने भरतचौक वर्ष भरि नै दुर्गन्धित रहन्छन् । यसको सरसफाईमा कहिल्यै ध्यान नदिइएको भरतचौकमा पसल संचालन गर्दै आएका शशिभुषण केशरीले गुनासो गरे ।

‘जिल्ला भरीकै नेताहरु भरत चोकमा हुने विभिन्न कार्याक्रममा प्रत्यक्ष सहभागिता जनाउने गर्छन,’ उनले भने, ‘त्यसको पछाडीको दुर्गन्धित ठाउँमै बसेर कार्यक्रम गर्ने विशिष्ट ओहोदाका नेता, कर्मचारीको आँखै अगाडी रहेको फोहोरलाई सरसफाई गर्नेतिर कसैको ध्यान गएको देखिदैन् ।’ नाक थुनेर कार्यक्रम गरेर फर्किन्छन तर चोकलाई सफासुग्घर बनाउन उनीहरुले वास्ता नै नगरेको उनले गुनासो गरे । आफूले पसल संचालन गरेको दशकौ भएपनि चोकको अवस्था अहिले पनि जस्ताको त्यस्तै रहेको उनले बताए ।

भरत चोकमा आईपुगेका सर्वसाधारणको लागी निर्माण गरिएको सार्वजनिक शौचालय अवस्था समेत दैनिय छ । शौचालय पनि सधै फोहोर र दुर्घन्धित रहने गरेको छ । उक्त शौचालयमा शौच गर्न पुग्ने नेता होस वा सर्वसाधारण सबैले नाक थुनेर दिसा पिसाब गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन । तर शौचालय र चोकको सरसफाई गर्न कसैले आवाज नउठाएको स्थानीयको भनाई छ ।

शौचालयको पिशाब फेर्ने ठाउँमा ढुंगा ईटा पानीका बोतलहरु त्यतिकै जत्रतत्र फालिएको फालिएर जाम भएको अवस्था छ । ठेक्का लिएकाले समेत यसको सरसफाई र रेखदेख गर्दैनन । बाहिरबाट आएका मानिसहरुको लागि चर्पी त रोग सार्ने थल्लो भइसकेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

‘नाला जाम भएर नालाको फोहोर पानी सडकमा बग्छ,’ उनले भने, ‘त्यही नालासँगै टासिएर मानिसहरुले खाने चिजवस्तुहरुको व्यापार थालेका छन् । ती खानेवस्तुहरुमा रोगको किटाणु सर्नु स्वभाविक हो ।’ तर पनि जानी जानी हामी त्यही खाने कुराहरु खान्छौ र रोगी हुन्छौ । चर्पीसँगै टासिएर रहेको ठाउँमा पोलेको मकै, फलफूल विक्री वितरण हुँदै आएको उनी बताउँछन् ।

कलैयाको मुख्य चौक दुर्गन्धित हुँदा समेत सम्बन्धित निकायको ध्यान नजानु दुःखद कुरा भएको दासले बताए । दिनहँु जसो राजनितिक मात्र होइन सुरक्षा निकाय समेतको सार्वजनिक कार्यक्रमहरु हुने प्रमुख थल्लो नै दुर्गन्धित हुँदा समेत कोही कसैको ध्यान नजानु बडो चिन्ताको विषय भएको उनको भनाई छ ।

कोरोना महामारीको समयमा पनि फोहोर नाला सफा नहुनु दुर्भाग्य हो । चौक मै राजनीतिक देखि सुरक्षा निकाय सम्मको हरेक गतिविधि दिनहुँ जसो हुने ठाउँ सफा सुग्घर नहुनु र त्यसप्रति कसैको आँखा नजानु नहेर्नु भनेकै हास्यास्पद कुरा भएको उनले बताए । आफूले यसको बारेमा पटक पटक आवाज उठाउँदा समेत सरसफाईमा ध्यान दिइएको देखिदैन । चौक वरिपरि मात्र होइन कलैया बजार तथा नगरकार सबै चोकलालाई सफा सुग्घर बनाउने जिम्मेवारी लिएकाहरुले समयमै सचेत हुनु पर्नेमा उनको जोड छ ।

स्मार्ट सिटीको अवधारणा ल्याउनेले कम से कम स्मार्ट सिटी बनाउन नसके पनि सफासुग्घर बनाउन जरुरी रहेको उनको भनाई छ ।

कलैया उपमहानगरपालिकाको वातावरण शाखाले समेत नगरको सरसफाई तिर ध्यान नदिएको स्थानीयको आरोप छ ।

कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले सडक निर्माण कार्य भईरहेकोले चोकको नाला सडक अस्तव्यस्त बन्न पुगेको बताए । ‘ठेक्का प्रक्रियामा रहेको सडक निर्माण कार्य वर्षाको कारण रोकिएकोले चोक अस्तव्यस्त बन्न पुगेको हो,’ उनले भने, ‘निर्माण कार्य चाडोभन्दा चाडो पुरा गर्न ठेकेदारलाई ताकेदा गरीरहेका छौं ।’ ठेकदारको बदमासीको कारण आफुले आलोचना खेप्नु परेको उनको भनाई छ ।

यो लेख शेयर गर्नुहोस