प्रहरीसंग भिडन्त गर्ने डाका समुहका दुई पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

बारा– बीरगंज पथलैया औद्योगिक करिडोर अन्र्तगत पर्ने बाराको एक उद्योगमा डकैती गरीरहेको अवस्थामा शनिबार राती प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरी बीच राती करिब साढे १२ बजे दाहोरो भिडन्त भएको हो ।

उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि वरिष्ठ प्रहरी नायब निरीक्षक कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग डाँकाहरुको भिडन्त भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

भिडन्तको क्रममा डाँकाहरुको समुहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । भिडन्तकै क्रममा डाँकाहरुको समुहले रड प्रहार गरी वरिष्ठ प्रहरी नायब निरीक्षक शाहीलाई घाईते बनाएको उनले बताए ।

डाका समुहले प्रहार गरेको रडबाट शाहीको टाउकोमा गम्भिर घाउचोट लागेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए । उनको वीरगंज स्थित हेल्थ केयर हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

११ जना डाँकाहरुको समूहले एरोटेक प्रालिमा डकैती गर्न आएको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक बोगटीले बताए । डकैती गर्न आएकाहरु मध्ये जितपुर सिमरा उमपहानगरपालिका ९ का ३५ वर्षीय जयराम पासवान र जितपुर सिमरा उपमहानगरपालिका १० का ४० वर्षीय जवाहिर महतोलाई पक्राउ गरिएको उनले बताए ।

डाँकाहरुको साथबाट तीन राउन्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद भएको उपरीक्षक बोगटीले जानकारी दिए ।

डकैतीमा संलग्न केही व्यक्तीहरु फरार भएको र उनीहरुको पहिचान गरी गरी खोजतलाश गर्ने काम तिब्र पारिएको प्रहरी अधिकारीहरुको भनाई छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस