बारा– जिउँ मास्ने बेच्ने तथा डाँका मुद्दामा २० वर्ष देखी फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारवाहीको लागी बारा जिल्ला अदालतको जिम्मा लगाएको छ ।
प्रहरी चौकी गंजभवानपुरबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका १० गंजभवानीपुर बजारबाट फरार प्रतिवादी करैयामाई गाउपालिका ३ बस्ने शत्रुधन साह कानुलाई नियन्त्रणमा लिएको हो ।
करैयामाई गाउँपालिका वडा नं.३ बस्ने देवेन्द्र प्रसाद केशरीलाई पसाहा खोला नजिकै हातहतियार देखाई लुटपाट गरेको घटनामा संलग्न रहेको आरोपमा कानुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
कानु सहितको ७/८ जनाको समुहले केशरीको साथबाट नगद १० हजार लुटी निज केशरीलाई अपहरण गरी भारतिय अपहरणकारीलाई २ लाखमा बिक्री गरेको अनुसन्धानबाट पुष्टी भएपछि अदालतको आदेशानुसार फरार मध्येका कानुलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका कानुलाई कानुनी कारवाहीको लागी बारा जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।