बारा– किसान र सरकारलाई ठग्दै कालो बजारी गर्दै आएको एक सहकारी संस्थाको गोदाममा सोमवार दुई सय बोरा रसायनिक मल सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बारा तथा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले २ सय बोरा मलले भरिएको गोदामलाई सिल गरेको छ ।
महागढीमाई नगरपालिका २ मैनी टोल बस्ने अरुण कुशवाहाले नेपाल सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा मल विक्री वितरण गरेको आरोप लगाउदै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेपछि अनुगमन टोलीले गोदाममा छापामारी गरेको हो ।
श्री कुश कृषि सहकारी संस्था लिमिटेडले नेपाल सरकारले अनुदानमा दिएको मल खरीद गरी कलैया उपमहानगरपालिका २३ कोइरिया टोल नजिकै रहेको गोदाममा छापामारी टोलीले सिल गरेको हो ।
सहकारी संस्थामा पुग्दा दुई हजार २ सय ५० बोरा अनुदानको मल नेपाल सरकारले तोकेको प्रति बोराको मूल्यमा खरीद गर्न सहकारी पुगेका थिए ।
सहकारीका अध्यक्ष अरुण कुशवाहाले नेपाल सरकारको अनुदानको डीएपी मलको प्रति बोरा ३ हजार ३ सय मागेको उनले बताए ।
त्यति पैसा म दिन सक्दिन, मसँग त्यति पैसा छैन उनले भने,‘बरु त्यो भन्दा कम गरेर दिनुस भन्दा अध्यक्षले मानेन् । एक छिनको लागि बहस पनि भयो ।
सरकारले अनुदानमा दिएको मलको भाउ भन्दा ९ सय बढी म दिन सक्दिन भन्दा कुशवाहाले उसो भए मल पाउनु हुन्न भनेको र केही समयको वादविवाद पछि तपाई राम्रो मान्छे हुनु हुन्छ तपाईलाई २ हजार ८ सय सम्म प्रति बोरा डीएपी मल दिन सक्छौ भनेका थिए । आखिरमा केही सीप नलागेपछि २ हजार ८ सयमा १ बोरा डीएपी मल लिएर गए । यहाँ
बाट मल लिएर गएपछि सिधै जिल्ला प्रशासन कार्यालय बारामा गुनासो गरे । प्रशासनले तुरन्तै कारवाही प्रक्रिया अगाडी बढायो । तर प्रहरी प्रशासन आउनुभन्दा अगाडी नै मल विक्री गर्नेहरु सटर बन्द गरी बेपता भएको उनले जानकारी दिए ।
यसै गरि कलैया उपमहानगरपालिका २३ का किसान जवाहर महतोले श्री कुश कृषि सहकारी संस्था लिमिटेडबाट अनुदानको युरिया मल प्रति किलो ४५ रुपैयाको दरले ४ किलो मल किनेर खेतमा हालेको जानकारी दिए ।
सहाकारी संस्थाका संचालकले सरकारले तोकेको मूल्य भन्दा तीन गुणा बढी मूल्य लिएर मल विक्री वितरण गर्दै आएको उनले आरोप लगाए । तर पनि उनलाई कसैले कारवाही गर्न सकेका छैन ।
गोदाममा २ सय बोरा मल रहेको श्री कुश कृषि सहकारी संस्था लि.का अध्यक्ष अरुण कुशवाहाले बताए ।
कुल पाँच वटा सटर रहेकोमा तीन वटा सटरमा मात्र अनुदानको मल रहेको उनले बताए । २ सय बोरा मल मध्ये १ सय ६५ बोरा डीएपी र १५ बोरा युरिया रहेको उनले जानकारी दिए ।
आफूले सरकारले अनुदानमा उपलब्ध गराएको मल युरिया प्रति बोरा ९ सय ६० र डीएपी प्रति बोरा दुई हजार ४ सयका दरले विक्री वितरण गर्दै आएको बताए ।
कलैया उपमहानगरपालिका २३ का वडाध्यक्षको सिफारिसमा अनुदानको मल ल्याएर विक्री वितरण गरिरहेको अध्यक्ष कुशवाहाले बताए ।
कुशवाहाले संचालन गर्दै आएको गोदाममा के कति मल रहेको आफूलाई जानकारी नभएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । मलमा तोकिएको मूल्य भन्दा बढी मूल्य लिएर कालोबजारी गरेको कारण गोदाम सिल गरिएको हो ।
पटक पटक गोदामको ताल्चा खोल्न आग्रह गर्दा पनि कुशवाहाले आफू सँग साचो नरहेको जानकारी दिएको र अनुदानको मलको कागजात समेत फेला नपरेको कारण तत्कालको लागि गोदाम सिल गरिएको उनले जानकारी दिए ।
कालो बजारी गरेको आरोपमा कुशवाहालाई पक्राउ गरी थुनामा राखिएको उनले जानकारी दिए ।