सिमाक्षेत्रमा मापदण्ड विपरित मदिरा भट्टी संचालन, नियमनकारी निकाय मौन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
3 मि. पढ्न लाग्ने समय

बीरगंज– बारा, पर्सा, रौतहट लगायतको जिल्लामा भारतिय सिमानासँग जोडिएका दशगजा क्षेत्रमा खोलिएको मदिरा होटलका कारण सुरक्षा चुनौती बढेको छ ।

दशगजा नजिकै खुलेका होटलमा खुल्लमखुल्ला घरेलु तथा कस्तुरी मदिरा बिक्री हुने गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

दसगज्जा भन्दा ५ सय मिटर वरपर होटल खोल्न नपाइने नियम रहेपनि त्यसको नियमनकारी निकाय मौन बसेपछि दसगज्जा क्षेत्रमै घरेलु तथा कस्तुरी मदिरा बिक्री वितरण भईरहेको स्थानीयले गुनासो गरेका छन ।

दसगज्जा क्षेत्रमा बिक्री भईरहेको मदिरा सेवन गरी युवाहरु अपराधिक घटनाहरु घटाईरहेको स्थानीयको भनाई छ ।

स्थानीय मदिरा पसलेले जिल्ला सुरक्षा समितीले निर्धारण गरेको मापदण्डलाई स्थानीय प्रहरीसंगको साटघाटमा उल्लंघन गरीरहेको स्थानीयको भनाई छ ।

बाराको सिम्रौनगढ, पचरौता, सुवर्ण, देवताल, कलैया, फेटा, विश्रामपुर लगायतका पालिकामा पर्ने दसगज्जा क्षेत्र तथा दसगज्जा नजिकै झुपडीमा पसल थापेर खुलेयामा मदिरा बिक्री वितरण भईरहेको स्थानीयले जानकारी दिएका छन ।

त्यस्तै पर्साको बीरगंज, जगरनाथपुर, ठोरी, बहुदरमाई लगायतको पालिकामा पर्ने दसगज्जामा पनि खुलेयाम घरेलु मदिरा बिक्री वितरण भईरहेको स्थानीयले जानकारी दिएका छन ।

त्यस्तै रौतहटको गौर, ईशनाथ, बौद्धीमाई लगायतको पालिकामा पर्ने दसगज्जा क्षेत्रसंग जोडिएर खोलिएको भट्टीमा खुलेयाम घरेलु मदिरा बिक्री वितरण भईरहेको स्थानीयको भनाई छ ।

यी तीन वटै जिल्लाको सिमावर्ती क्षेत्रमा ४ दर्जन बढी अवैद्ध रुपले स्थानीय सुरक्षाकर्मीकै मिलेमतोमा मदिरा पसल संचालनमा रहेको स्थानीयले गुनासो गरेका छन ।

स्थानीयका अनुसार ती मदिरा भट्टीहरु भारतीय ग्राहकहरुबाट सधै भरीभराउ रहने गरेको र मदिरा खाएकै झोकमा उनीहरुले अपराधिक घटना घटाउने गरेका छन ।

पछिल्लो समय मदिराकै कारण सिमावर्ती क्षेत्रमा हत्या, बलात्कार, चोरी, लुटपाट जस्ता घटना बढेको स्थानीयको गुनासो छ ।

दिनभर सुनसान हुने ती होटल साँझ परेसँगै भरिभराउ हुने गर्दछन । भारतको बिहार सरकारले ९ वर्षअघि मदिरा बिक्री वितरणमा रोक लगाएपछि सीमापारिका मानिस नेपाल तर्फको दशगंजा नजिकै खुलेका होटलहरुमा आउन थालेका छन् ।

नेपाली सिमा तर्फ जग्गा किनेर भारतीयहरुले नै अधिकांश स्थानमा मदिरा होटल खोलेका छन् ।

मदिरा खाएर लठ्ठिएका भारतिय ग्राहकहरु हो हल्ला गर्दा स्थानियले असुरक्षा महसुस गर्न थालेको मुसहर्वाका विजय यादवले गुनासो गरे ।

मदिराको सुरमा भारतीयहरुले जुनसुकै बेला पनि अपराध गर्न सक्ने हुँदा स्थानियहरु आतंकित भएको यादवको भनाई छ ।

सीमाक्षेत्रमा अनधिकृत रुपमा खुलेका मदिरा होटल हटाउन प्रहरी प्रशासनसँग पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

दशगजा क्षेत्र आसपासमा अवैद्ध रुपमा खुलेका मदिराभट्टीले सुरक्षा चुनौती बढेको तीनै जिल्लाका सुरक्षाधिकारीहरुको भनाई छ ।

दसगज्जा क्षेत्र भन्दा ५ सय मिटर वरपर मदिरा पसल राख्न नपाउने कानुनी प्रावधान रहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।

दसगज्जा क्षेत्र नजिकै मदिरा पसल खोलिएको सुचना आफुकहा पनि आएको र त्यसलाई नियन्त्रण गर्ने प्रयास भईरहेको उनले जानकारी दिए ।

सिमा क्षेत्रमा खोलिएको मदिरा भट्टी संचालकबाट स्थानीय प्रहरी चौकीका प्रमुखहरुले महिनावारी लिएर मौन बसेको स्थानीयको आरोप छ ।

ट्याग्स : , , , , , , , ,
यो लेख शेयर गर्नुहोस