शिवलाई जल अर्पण गर्दै सकियो साउने सोमवारी व्रत

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 969
3 मि. पढ्न लाग्ने समय

बारा–वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबार देखि महादेवको पूजा आराधना सहित सुरु गरेको व्रत महिनाको अन्तिम सोमवार विधिवत सम्पन्न भएको छ ।

श्रद्धालु भक्तजनले विधिपूर्वक गोदान र पूर्णपात्र गरी सोमवारी व्रत समापन गरेका हुन । साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीहरुले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताए ।

चन्द्रमाअनुसार साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनको भनाई छ ।

यो व्रत लिनेले यस लोकमा सुख शान्ति पाउनका साथै परलोकमा सद्गति मिल्ने शिव पुराण लगायत धर्मग्रन्थमा उल्लेख छ ।

साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र लिनुपर्छ भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः महिलाले परिवारमा सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेको कलैया उपमहानगरपालिका १६ निवासी धिरेन्द्र मिश्रले जानकारी दिए ।

‘धेरैले शिवजीको महिना भनी साउनमा मांस र मदिरा सेवन गर्दैनन्,’ उनले भने, ‘शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल भरेर शिवालयमा चढाउने चलन छ ।’ साउन महिनाको अन्तिम सोमवार पुजा समापन गर्ने भएकोले बाराका शिवालयहरुमा भक्तजनको अप्रत्याशित भिड बढेको उनले बताए ।

बाराको चारोकोशे झाडीमा रहेको सहजनाथ महादेव मन्दिर, कलैयाको सिद्धेश्वर मन्दिर लगायतका शिवालयहरुमा ठुलो मेला लागेको थियो ।

सहजनाथ मन्दिमा बागमती नदीबाट जल लिएर चढाउन आएका कलैयाका धमेन्द्र गिरीले अन्य वर्षको तुलनामा यसपाली धेरै भीड देखिएको बताए ।

मन्दिरमा आउने भक्तजनको लागी निशुल्क सदाब्रत भोजन गराउन पुगेका कलैया २ औधापुरका भोला यादवले अन्तिम सोमवार भक्तजनको अत्याधिक उपस्थिती देखिएको बताए । बारामा मात्र नभई रौतहट, पर्सा, सर्लाही लगायत देशभरी रहेका शिवालयहरुमा ठुलो मेला लागेको स्थानीयले बताएका छन ।

काठमाण्डौंको पशुपति नाथ मन्दिरमा पनि श्रद्धालु भक्तजनको ठुलो भीड देखिएको र त्याहा पनि ठुलो मेला लागेको मेला भर्न आएका मनोज मण्डलले बताए ।

कोरोना संक्रमणका भारतका तिर्थ स्थलमा जान नपाएका भक्तजनहरुबाट अन्य वर्षको तुलनामा यसपाली शिवालयहरु भरीभराउ देखिएको उनले बताए ।

यो लेख शेयर गर्नुहोस