रौतहटबाट नबालिकालाई अपहरण गर्ने अविर पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 853
2 मि. पढ्न लाग्ने समय

रौतहट– आफ्नै घर अगाडी खेल्दै गरेकी परिवर्तित नामथर वतन ३२ जि.०७८/०७९ (२४) की ४ वर्षिया नबालिकालाई अपहरण गरी फिरौती रकम माग्ने एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नं. ७ बस्ने २४ वर्षिय महमद अविर हुसैन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिनु भयो ।

ती नबालिकालाई अपहरण पश्चात २० लाख रुपैयाँ फिरौती माग गर्दै नबालिकाको अभिभावकलाई गरेको फोनको आधारमा खोजतलाश सुरु गरिएको उहाले जानकारी दिनु भयो ।

खोज तलाशकै क्रममा रौतहट राजपुर नगरपालिका वडा नं. १ बहुअर्वा मदर्सा अगाडी सडक छेउमा रहेको गुम्ती पसल नजिक वाँसले बनाएको खाटमा सुताई राखेको अवस्थामा नबालिकालाई फेला पारिएको प्रहरीले जनाएको छ ।

नबालिका फेला परेपछि फोन मार्फत फिरौती रकम माग्ने अपहरणकारी आविरलाई पनि सोही स्थानबाटै अपहरणमा प्रयोग गरिएको बि.आर. ०५ ए.एफ.ओ २८२८ नम्बरको भारतीय मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

अविरले फोन मार्फत फिरौती रकम ईद्रीश गेटमा ल्याउन र अपहरणबारे कसैलाई सूचना दिए नबालिकाको ज्यान मार्ने धम्की समेत दिएको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।

अविरलाई अपहरण तथा शरिर बन्धक सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

रौतहटमा पछिल्लो समय अपहरण, हत्या, बलात्कार जस्ता घटनामा वृद्धी भएको स्थानीयले गुनासो गरेका छन ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस