पर्सा– वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक व्यक्तीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक जयमंगलापुर वडा नं.४ परिवर्तित छिपहरमाई गाउँपालिका वडा नं.३ घर भई हाल वीरगंज महानगरपालिका वडा नं.१६ मा डेरा गरी बस्ने ३४ वर्षिय नवलकिशोर साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।
सर्वसधारण व्यक्तिहरुसंग वैदेशिक रोजगारीमा फ्रि टिकट, फ्रि भिसामा विदेश पठाइ दिन्छु भनी प्रलोभनमा पारी झुक्याइ, मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिसंग पच्चिस हजार देखि दुई लाख सम्मको रकम कानसले ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
आफ्नो नागरिकता प्रयोग नगरी अरु व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरी आईएमई मार्फत आएको रकम झिकी रहेको सुचना पाएपछि कानुलाई रंगेहात नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पीडितले दिएको जाहेरी अनुसार कानुले पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ निजकै घरबाट नेपाली तीन लाख रुपैया, विभिन्न स्थानबाट आईएमई मार्फत भारु एक लाख ४८ हजार रुपैया मगाई झिकेको आरोप लगाईएको छ ।
ठगी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद लिई कानुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।