काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बुधबार पनि स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर, पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।
यसअघि मंगलबार बसेको बैठकले पार्टीको पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।
केन्द्रीय कमिटीको बैठक स्थगित गरेर दाहाल निवास खुमलटारमा पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठक बसको थियो । माओवादीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था भए पनि आकांक्षी धेरै हुँदा पद तथा जिम्मेवारी बाँडफाट हुन सकेको छैन । पार्टी महासचिवका लागि जनार्दन शर्मा र वर्षमान पुनबीच कडा टक्कर रहेको छ ।