वर्षायाम सुरु भएसंगै रौतहटमा सर्पदंशको घटनामा वृद्धी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 670
2 मि. पढ्न लाग्ने समय

रौतहट–वर्षायाम सुरु भएसंगै रौतहटमा सर्पदंशका घटनामा वृद्धी भएको छ । विषालु सर्पको टोकाईबाट रौतहटमा ज्यान गुमाउनेको संख्यामा समेत वृद्धी भएको छ ।

चर्को गर्मीको कारण दुलो भित्र लुकेर बस्ने विषालु सर्पहरु बाहिर निस्केर टोक्ने क्रम यतिखेर तिव्र बनेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । दिनहु विषालु सर्पले टोकेका कम्तीमा १० देखी १५ जना बिरामी उपचारको लागी प्रादेशिक अस्पताल गौरमा उपचारको लागि आउने गरेको अस्पतालका चिकित्सकले जानकारी दिएका छन ।

असार महिना सुरु भए यता ५० जना भन्दा बढी सर्पदंशको विरामीहरु उपचार गराउन प्रादेशिक अस्पताल गौरमा आएको अस्पतालका आकस्मिक कक्षमा कार्यरत चिकित्सक मुकेश कुमार झाले जानकारी दिनु भयो ।

दिउसो सर्पदंशका बिरामीको संख्या कम रहेपनि साँझ पख एक्कासी बढने गरेको उहाले जानकारी दिनु भयो । सर्पदंशका विरामीहरुलाई दिइने एन्टि स्नेक भेनम नामक औषधी अहिले पर्याप्त संख्यामा रहेको कारण विरामीहरुलाई उपचार गर्नमा कुनै कठिनाई नरहेको उहाले जानकारी दिनु भयो ।

सर्पदंशका बिरामीलाई समयमा अस्पताल पुरयाउन नसक्दा ज्यान गुमाउने क्रम पछिल्लो समय रौतहटमा बढेको चिकित्सक झाको भनाई छ । समयमा अस्पताल नपु¥याएकै कारण एक साता यता विषालु सर्पले टोकेर दुई जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विषालु सर्पले टोकेर बिरामी भएका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ छतौनाकी २६ बर्षिया खुसमुदा खातुन र बौधीमाई नगरपालिका ३ मटिअर्वा बस्ने रामलगन कुशवाहाका ९ बर्षिय छोरा अनमोल कुशवाहाले समयमा उपचार नपाउदा ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

सर्पदंशको विरामीको संख्या बढ्न थालेपछि रातिको समयमा टर्च लिएर बाहिर निस्कने तथा सुत्नु अघि ओछ्यानलाई राम्ररी हेरविचार गरेर मात्रै सुत्ने सलाह चित्सिकले दिएका छन । सर्पले टोकेपछि धामी झाक्री कहा होईन, तुरुन्तै सेवा सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन चिकित्सकले सुझाव दिएका छन ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस