बारा– बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवामा चट्याङ लागेर शुक्रवार एक युवकको मृत्यु भएको छ । चट्याङकै ठुलो ध्यानी तथा झटकाले एक नबालिका सहित तीन जना घाईते भएका छन ।
सनफुलवा गाउ नजिकैको खेतमा काम गरीरहेको अवस्थामा वर्षासंगै परेको चट्याङ लागेर सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा बस्ने बाबुलाल राय यादवको छोरा २० वर्षिय धिरज प्रसाद यादवको घटना स्थलमै मृत्यु भएको हो ।
सोही ठाउ नजिकै रहेका स्थानीय २८ वर्षिय नेतालाल पंडित र भरोस यादवकी छोरी ८ वर्षिया रुबी कुमारी चट्याङ लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो । घाईते दुबै जनाको स्थानीय क्लिनिकमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे सुचना पाएर प्रहरी चौकी बडकी फुलवरियाबाट खटिएको टोलीले मुचुल्का उठाउने लगायतका काम गरेको प्रहरीले जनाएको छ । मृतकको शव कलैया अस्पतालमा परिक्षण गरी अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईने प्रहरील जनाएको छ ।
यसैगरी शुक्रवार दिउसो करीब एक बजे खसेको चट्याङको ठुलो आवाजले कलैया उपमहानगरपालिका वडा नम्बर १३ छोटकी फुलवरियामा एक महिला बिरामी परेकी छिन ।
पानी परीरहेको बेला आफ्नै घरको भारदलीमा बसेकी स्थानीय लालु राय भाटकी पत्नी ३५ वर्षिया अस्तुरन खातुन बिरामी भएकी हुन । चट्याङको ठुलो आवज सह्न नसकेकी अस्तुरनको मान्सिक अवस्था असर परेको र उनी छिनछिनमै तर्सिने गरेको उपचारमा संलग्न कलैया अस्पतालका चिकित्सकले जानकारी दिएका छन । बिरामी परेकी अस्तुरनको कलैया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।