मौलापुर नगर क्षेत्रका विद्यालयहरुको शिक्षाको गुणस्तर तल खस्केकोमा चिन्ता

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 907
2 मि. पढ्न लाग्ने समय

रौतहट–मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले नगरको विद्यालयहरुको शिक्षाको गुणस्तर तल खसेको देखेर चिन्ता व्यक्त गर्नु भएको छ ।

मौलापुर नगर क्षेत्रमा रहेका विद्यालयहरुको अनुगमन निरिक्षणको क्रममा विहिवार अधारभुत विद्यालय मर्यादपुरमा पुगेकी नगरप्रमुख साहले विद्यार्थी कक्षाको अवलोकन पछि यस्तो चिन्ता व्यक्त गर्नु भएको हो ।

कक्षा अवलोकनको क्रममा विद्यार्थीहरुको शिक्षण सिकाई एकदमै कमजोर रहेको पाईएको उहाले जानकारी दिनु भयो । ४/५ कक्षाका विद्यार्थीलाई शुद्ध नेपाली विषयको किताब पढ्न नआएपछि नगरप्रमुख साहले विद्यालयका शिक्षकहरुसंग यसको जवाफ माग्नु भएको थियो ।

विद्यालयमा आएर तपाईहरुले गरेको कामको परिणाम नदेखिएको भन्दै नगरप्रमुख साहले शिक्षकहरुलाई ईमान्दारिता पुर्वक नियमित कक्षा संचालन गर्न र विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन निर्देशन समेत दिनु भयो ।

‘आकर्षक र चिटिक्क भवनले मात्र विद्यालय राम्रो बन्न सक्दैन,’ उहाले भन्नु भयो, ‘विद्यार्थीहरुको पढाई राम्रो हुनु पर्यो ।’ विद्यार्थीको पढाई राम्रो नभएसम्म शिक्षकले गरेको मिहनेतको परिणाम देखिदैन । त्यसैले विद्यार्थीहरुको पढाईमा ध्यान केन्द्रित गर्न उहाले शिक्षकहरुलाई निर्देशन दिनु भयो ।

सो अवसरमा मौलापुरका नगरपालिकाका उप प्रमुख नागेन्द्र प्रसाद यादवले भवनको निर्माण कार्य सम्पन्न गराएर एक महिना भित्र विद्यालय भवनको उदघाटन गर्ने तयारी गरिएको जानकारी दिनु भयो ।

नवनिर्मित विद्यालय भवनमा पंखा, विजुली, शौचालयको कमी रहेकोले भवन निर्माण गर्ने ठेकेदारलाई यथाशिघ्र काम सम्पन्न गर्न निर्देशन समेत दिईएको उहाले जानकारी दिनु भयो ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले भुई ढलानमा भएको त्रुटीलाई सच्याउन ठेकेदारलाई निर्देशन दिईएको जानकारी दिए ।

कमल कन्ट्रक्सनले एक करोड १३ लाखमा एक तल्ले भवन र साहु कन्ट्रक्शनले २ करोड ५२ लाखको लागतमा २ तल्ले विद्यालय भवनको निर्माण गरीरहेको उहाले जानकारी दिनु भयो ।

नगर शिक्षा समितीको निर्णय अनुसार दुई वटा प्राविलाई मर्ज गरी मावि मर्यादपुर स्थापना गरी नयाँ भवनको निर्माण हुन लागेको उहाले जानकारी दिनु भयो । भवन निर्माण कार्य अन्तिम चरणमा रहेको र यसलाई छिट्टै उदघाटन गरेर पठन पाठन संचालनमा ल्याईने उहाले जानकारी दिनु भयो ।

अनुगमनको क्रममा मौलापुर नगरपालिका १ मर्यादपुरका वडाध्यक्ष जयनाथ प्रसाद कुशवाहा, कार्यपालिका सदस्य वैद्धनाथ प्रसाद यादव, शारदा अर्याल (सुमन), स्थानीय संचारकर्मी राजकुमार यादव, पवन यादव लगायतको उपस्थिती थियो ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस