पवन यादव
बारा– बाराको कलैया उपमहानगरपालिका १६ मा जतना समाजवादी पार्टीका उम्मेदवार शेषनाथ प्रसाद साह प्यानल सहित विजयी भएका छन ।
उनले अफ्ना निकटतम प्रतिद्वन्दी अनिल कुशवाहालाई तीन सय ८४ मतको फराकिलो अन्तरले पाखा लगाउदै पुनः वडाध्यक्षको कुर्सी हत्याएका हुन ।
शेषनाथले एक हजार चार सय ६३ र एमालेका उम्मेदवार अनिल कुशवाहाले एक हजार ७९ मत प्राप्त गरेका छन ।
सोही वडाको वडा सदस्यमा एक हजार चार सय २९ मत प्राप्त गरी दलित महिला रामपति देवी राम, एक हजार चार सय ३९ मत प्राप्त गरी अर्का महिला सदस्यमा शिला पटेल, वडा सदस्यमै एक हजार चार सय ३२ मत प्राप्त गरी ओमप्रकाश यादव र एक हजार दुई सय ६९ मत प्राप्त गरी हरिनारायण कुशवाहा विजयी भएका छन ।
यस अघि २०७४ को निर्वाचनमा पनि तत्कालिन मधेशी जन अधिकार फोरम हातमा मसाल छापबाट यो टिम निर्वाचित भएको थियो । यसपाली पनि पुरै टिम जनता समाजवादीमा परिणत भएको छाता छापबाट निर्वाचित भएको स्थानीय छविलाल प्रसाद यादवले जानकारी दिए ।
निर्वाचित भईसकेपछि वडाध्यक्ष शेषनाथ सहितको टिम बिहिवार विजय जुलुश निकालेको छ । सोही वडाको मझौलिया टोलबाट सुरु भएको विजय जुलुश विद्यानगर, उत्तरझिटकैया, पकडी, दोहोरी, सोनरनिया हुदै पुनः मझौलिया पुगेर सम्पन्न हुने यादवले जानकारी दिए ।
प्रचण्ड घामको कुनै प्रवाह नै नगरी निर्वाचित उम्मेदवार तथा तिनका समर्थकहरु विजय जुलुशमा सहभागी भएका थिए । बाजागाजा सहित निस्केको विजय जुलुशमा हिन्दी फिल्ममा मञ्चन गरिएको दृश्य जस्तै फिल्मी शैलीमा सवारी साधनको लस्कर नै लागेको थियो ।
ठुलो संख्यामा मोटरसाईकल समेत विजय जुलुशमा सहभागी थिए । जनताले आफ्नो अमुल्य मत दिएर निर्वाचित गरेको भन्दै निर्वाचित जनप्रतिनिधीले मतदाताको घर आंगनमै पुगेर धन्यवाद दिदै पुरा गर्न बाकी रहेको विकास निर्माणको कामलाई अगाडी बढाउने विश्वास दिलाएका छन ।
पुनः वडाध्यक्षमा निर्वाचित शेषनाथले वडावासीको भावनालाई बुझेर विकास निर्माण तथा वडाको सेवालाई अगाडी बढाउने आश्वासन दिएका छन ।