गौर– रौतहटको गढीमाई नगरपालिकामा निर्वाचनको क्रममा भएको झडपपछि स्थगित भएको निर्वाचन बुधवार (आज) हुदै छ ।
स्थानीय राजनीतिक दल र उम्मेदवारका नेता कार्यकर्ताबीच विवाद उत्पन्न भई भएको झडपका कारण स्थगित भएको निर्वाचन जेठ ४ गते गर्ने मिति निर्वाचन आयोगले तय गरेको थियो ।
झडपमा परी एक पक्षका विनोद प्रसाद गम्भिर घाईते भएका छन । स्थानीयले निर्वाचन बुथ लुटने क्रममा प्रहरीले हवाई फायर गरिएको दाबी गरेको छ ।
त्यही क्रममा प्रहरीले चलाएको गोली लागी विनोद गम्भीर घाईते भएका छन । उनको उपचार राजधानी काठमाण्डौंमा भईरहेको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा रहेका विनोदको निधन भएको झुठा खबर गाउमा फिजाईपछि आक्रोशित उनका आफन्त सहितका व्यक्तीहरुको समुहले रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ सिंघारमन धरमपुर टोलका नेपाली काग्रेसका समर्थकहरुको दुई दर्जन भन्दा बढी घरमा तोडफोड र लुटपाट गरेको हो ।
राजनीतिक प्रतिशोध साध्न करीब ३०÷४० जनाको संख्यामा निस्केको उक्त समुहले डाकाशैलीमा स्थानीय नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको घर छानीछानी तोडफोड गरेको पीडितले बताएका छन ।
उक्त समुहले टोलका दुई दर्जन बढी खपडा र टालीले छाएको कच्ची घर तोडफोड गर्नुका साथै घर आंगनमा पार्किङ्ग गरी राखिएको पाच वटा मोटरसाईकलमा समेत तोडफोड गरी आगजनी गरेका छन ।
आगजनीबाट मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ । ती समुहले आफ्नो घरको ढोक्का फोडी घरभित्र पसेर नगद, गरगहना, कागजपत्र समेत लुटेर लगेको पीडित स्थानीय अन्जु यादवले गुनासो गरीन ।
लुटेरा समुहले राजनीतिक प्रतिशोध साध्न आफ्नो ब्याचलर गरेको सर्टिफिकेट समेत दराजबाट झिकेर लगेको अन्जुले भकानिदै सुनाईन ।
रौतहटकै विनागरा माईते भएकी अन्जु साढे ३ वर्ष अघि सिंघारमन धरमपुरका बाल्मिकी प्रसाद यादव संग विवाह गरेर आएकी थिईन ।
ससुरालमा पुरानो हुदै गएकी अन्जुले तोडफोड गर्न आएका समुह मध्ये केही व्यक्तीको पहिचान खुलेको बताईन ।
घरेलु हातहतियार सहित आएको समुहले घरमा आएर एक्कासी तोडफोड गरेको अर्का स्थानीय चुनुदेव प्रसाद यादवले बताए ।
ती समुहले घरमा कोही नभएको मौकामा तोडफोड गरेको हो । उनीहरुले घर तोडफोड गर्नुको साथै घरभित्र राखिएको अन्नपात समेत लुटेर लगेको चुनुदेवले जानकारी दिए ।
गाउमा लुटेराहरु पसेको हल्ला भएपछि आफु परिवार सहित घर बाहिर भागेपछि उनीहरुले घरमा पसेर तोडफोड तथा लुटपाट गरेको स्थानीय सत्यनारायण यादव बताउछन ।
घटनाबारे पीडितले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय गौरबाट आएको प्रहरी टोलीले घटना साम्य पारेको थियो ।
प्रहरीले घटनामा संलग्न ३५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी सुनील मल्लले जानकारी दिए ।
घटनापछि गाउको जनजिवन आतंकित बनेको छ । पीडितले घरमा लुटपाट गर्ने अपराधीलाई कानुनी कारवाही गर्न र शान्ती सुरक्षा कायम गर्न सम्बन्धित निकायसंग माग गरेका छन । यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रहरी प्रशासन सजग र संवेदनशील हुन जरुरी देखिन्छ ।