रौतहट– फतुवा विजयपुर नगरपालिका क्षेत्रका किसानको लागी सृजनशील काम गर्न आफु प्रतिवद्ध रहेको एमालेबाट फतुवा विजयपुर नगरपालिकाका मेयरका उम्मेदवार विजय यादव (निरबिज) ले बताएका छन ।
विजयपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै किसानको लागी आकर्षक योजना बनाएको बताएका छन ।
‘खेती गर्दा जग्गा जोताईमा लाग्ने खर्चको बचत हुन्छ,’ उनले भने, ‘किसानको लागी सहुलिय दरमा खेत जोत्ने ट्रेक्टर उपलब्ध गराउछौं ।’ ट्रेक्टर नगरपालिकाले नै खरीद गरी साना किसानलाई उपलब्ध गराउछ । ट्रेक्टर उपलब्ध गराएपछि जग्गा जोताईमा लाग्ने खर्च घटने विश्वास लिईएको उनको भनाई छ ।
खेतीको लागी सिचाईको लागी विद्युतीकरण, मल बिउ, कृषि उत्पादनको लागी बजार लगायतको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत उनले जानकारी दिएका छन ।
कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, उद्योग व्यपार, पर्यटन, भौतिक पुर्वाधार लगायतका विषयमा व्यापक सुधार गरी योजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता पनि उनले गरेका छन ।
प्रत्येक वडामा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना पनि उनले प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गरेका छन ।
सो अवसरमा एमालेबाटै उप मेयरकी उम्मेदवार कान्ती देवी महतोले नगर क्षेत्रकी महिलाहरुको लागी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन ।
विगतमा बाकी रहेको अधुरो योजनालाई यसपाली पुरा गर्ने वाचा सहित निर्वाचनमा होमिएको उनले जानकारी दिएकी छन ।
कार्यक्रममा एमाले फतुवा विजयपुरका प्रचार प्रसार संयोजक विष्णु श्रेष्ठ, नगर सचिव उमाकान्त दाहाल, प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्याय लगायतको उपस्थिती थियो ।
यसपालीको निर्वाचनमा फतुवा विजयपुर नगरपालिकामा एमालेका उम्मेदवारको पक्षमा जनलहर नै चलेको स्थानीयले जानकारी दिएका छन ।