तीन दिन देखी अवरुद्ध रौतहटको मौलापुर क्षेत्रको विद्युत सुचारु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

रौतहट– विगत तीन दिन देखी अवरुद्ध रौतहटको मौलापुर क्षेत्रको बौद्धीमाई नगरपालिकाको विभिन्न स्थानमा आईतवार बिहान पौने ११ बजे देखी सुचारु भएको छ ।

शुक्रवार साझ आएको हावाहुरीले रौतहटको विभिन्न स्थानमा विजुलीको तार, पोलमा क्षति पुर्याएपछि यस क्षेत्रमा विद्युत अवरुद्ध भएको थियो ।

विद्युत अवरुद्ध हुदा यस क्षेत्रका स्थानीय रेडियो, अनलाईन, कुटानी पिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताल लगायतको सेवा प्रभावित भएको थियो ।

विद्युत अवरुद्ध हुदा गर्मी छल्न समेत समस्या भएको बौद्धीमाई नगरपालिका ९ का ब्रीजभुषण मिश्राले गुनासो गरे । ‘विजुली अभावमा पंखा नचल्दा साना बालबालिकाहरुले कष्ट भोग्नु परेको थियो,’ उनले भने, ‘उखरमाउलो गर्मी सह्न नसकेका बालबालिकाहरु छटपटिएर रात बिताउन बाध्य भएका थिए ।’ बिजुलीमा निर्भर परिवारलाई खानपीन गर्न तथा नुहाउन पानीको समस्या समेत झेल्नु परेको उनले बताए ।

रातको समयमा विजुलीको भरमा परेका ९५ प्रतिशत परिवारलाई अन्ध्यारो रात कटाउन निकै कठिनाई व्योहोर्नु परेको स्थानीयको भनाई छ ।
विजुलीले टुक्की र मट्टीतेललाई विस्थापित गरेपछि आफुहरुलाई वितको बेलामा रातको अन्ध्यारोको सामना गर्नु परेको अर्का स्थानीय बौद्धीमाई नगरपालिका ८ का रोहित साहले बताए ।

‘विद्युत अभावमा व्यापार घाटा व्योहोर्न वाध्य भयौं,’ उनले भने, ‘विद्युत अवरुद्धले लाखौंको नोक्सान व्योहोर्नु पर्यो।’ यहाका पेट्रोल पम्प, मिठाई पसल, कोल्ड मेसिन फ्रिज लगायतका उपकरण तथा पसल संचालनमा समस्या व्योहोर्नु परेको उनले सुनाए ।

विजुली अभावकै कारण यस क्षेत्रमा खानेपानी सेवा समेत अवरुद्ध भएको पीडितले गुनासो गरेका छन । विद्युत सुचारु भएपछि यसक्षेत्रको विद्युतिय उपकरण संचालनमा आएको स्थानीयले जानकारी दिएका छन ।

विजुलीको तार मर्मत र पोल गाड्ने काम पुरा भएपछि विद्युत सुचारु भएको नेपाल विद्युत प्राधिकरण मौलापुर सब स्टेशनले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस